विराटनगर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित एक जना महिलाको विराटनगरमा मृत्यु भएको छ ।
इलाम घर भएकी ३९ वर्षीया लामा थरकी महिलाको उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको केही समयमै मृत्यु भएको हो । नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका लामालाई उपचारका लागि मङ्गलवार बिहान ४ः२० बजेतिर अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालको आकस्मिक कक्षमै बिहान ६ बजेतिर मृत्यु भएको जानकारी राईले दिए । ‘उपचारका लागि ल्याउँदा नै अवस्था गम्भीर थियो । थप उपचार गर्न नपाउदै आकस्मिक कक्षमै मृत्यु भएको हो,’ उनले भने ।
मृतकलाई श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउनेलगायतका समस्या देखिएपछि सोमबार झापा बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । अवस्था गम्भीर बनेपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो ।
शवलाई प्रहरीको जिम्मा लगाइएको जानकारी नोबेल अस्पतालका प्रबन्धक राईले दिए । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले इलाम प्रहरीसँग समन्वय गरी नियम बमोजिम प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइसकिएको जानकारी दिइन् ।
पछिल्लो समय कोरोना संक्रमण फैलने क्रममा रहेकाले सबैले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । डीएसपी चुँडालले कोरोना फैलान थालेपछि प्रहरीले जनचेतना फैलाउने काम गरिरहेको जानकारी दिइन् ।
कोशी प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमित फेला पर्न थालेका छन् । हालसम्म मृतकबाहेक ८ जनामा संक्रमण पुष्टि भइसकेको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण खरेलले जानकारी दिए । संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना छन् ।
कोरोना संक्रमण फाट्टफुट्ट रूपमा देखिन थालेकाले नियन्त्रणका लागि प्रदेश सरकारले काम गरिरहेको खरेलले बताए । उनले भने, ‘सुरक्षाका उपाय अवलम्बन गर्दै कोरोना नियन्त्रण गर्न र थप फैलन नदिन सार्वजनिक सूचना जारी गर्ने लगायतका विभिन्न कामहरु प्रदेश सरकारले गरिरहेको छ । सबै पक्षसँग समन्वय र सहकार्य गरेर जिल्ला अस्पताललगायतका स्वास्थ्य संस्थाहरुलाई ‘अलर्ट’ गराइसकिएको छ । संक्रमणबाट जोगिनलाई सावधानी अपनाउनु नै सबैभन्दा उत्तम उपाय हुन्छ ।’
प्रतिक्रिया