सुनसरीबाट गाँजासहित एक युवक पक्राउ, एक जना फरार

शुक्रबार, १२ बैशाख २०८२

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित जनता चोकबाट प्रहरीले १०२ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। यस क्रममा प्रहरीले एक जनालाई गाँजासहित पक्राउ गरेको छ भने अर्को अभियुक्त फरार छन्।  जनता चोकबाट नरसिंहतर्फ जाँदै गरेको भित्री सडक खण्डमा ठुलो मात्रामा गाँजा ओसारपसार भइरहेको गुप्त सूचनाको आधारमा प्रहरीले १ जनालाई पक्राउ गर्दै गाँजा बरामद गरेको हो । 

बुधवार राति करिब ८ः४५ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी चिरौलीचोकबाट खटिएको टोलीले उत्तरबाट दक्षिणतर्फ गइरहेको को ३७ प ८६३१ नम्बरको मोटरसाइकललाई रोकिने सङ्केत गरेको थियो।  

तर चालकले मोटरसाइकल छोडेर भागेका थिए। सो मोटरसाइकलमा रहेको एक बोरा र एक जेब्रा झोलाबाट ४० किलो ४८० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।  

त्यसपछि घटनास्थल नजिकै अनुसन्धान गर्दै जाँदा प्रहरीले जनता चोकबाट यादव टोलतर्फ जाँदै गरेको प्र.१–०२–०४३ प ३०६३ नम्बरको अर्को मोटरसाइकल रोकेर चेकजाँच गर्दा सोही प्रकारको प्याकिङमा राखिएको ६२ किलो २७० ग्राम गाँजा भेटिएको हो। सो मोटरसाइकलमा सवार धनकुटा जिल्ला सांगुरीगढी गाउँपालिका–९ का २२ वर्षीय सलिन राईलाई प्रहरीले पक्राउ गरेको छ।  

राईलाई लागू औषधसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

अर्का अभियुक्त भने हालसम्म फरार छन्। उनको पहिचान खुलाउने र पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार