चितवन : नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले ढुवानी तथा लोडअनलोड क्षेत्रमा कार्यरत श्रमिकहरूलाई कानुनले अझै पनि औपचारिक रूपमा नचिनेको बताएका छन्।
शनिवार नवलपुरको गैँडाकोटमा आयोजित सङ्गठनको तरकारी तथा फलफूल ढुवानी इकाई कमिटी चितवनको चौथो अधिवेशनमा बोल्दै अध्यक्ष राईले देशभरि रहेका १० हजारभन्दा बढी श्रमिक सवारी तथा यातायात व्यवस्था ऐन, श्रम ऐन, र सामाजिक सुरक्षा ऐनको दायराबाहिर रहेकाले उनीहरू जोखिमपूर्ण काममा रहँदा पनि कुनै सुरक्षा प्रत्याभूति नभएको बताए।
उनले भने,“वर्षौँदेखि काम गरिरहेका यस्ता मजदुरको कार्यक्षेत्रमा स्थायी व्यवस्थापक नै अदृश्य छ, कानुनी परिभाषा अस्पष्ट छ,जसका कारण उनीहरू निरन्तर समस्यामा छन्।” साथै, हाल कानुन संशोधनको प्रक्रिया अघि बढिरहेको भन्दै राईले श्रमिकहरूको अधिकार सुनिश्चित गर्न सङ्गठनहरूले भूमिका मजबुत बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रमका विशेष अतिथि तथा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले पनि यातायात क्षेत्रमा कार्यरत अधिकांश मजदुर अझै सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन नसकेको बताए।
उनले मजदुरको जीवनमा आइपर्ने सङ्कट समाधान गर्न जिफन्टले विशेष पहल लिएको र नेकपा (एमाले) सरकारले सुरुआत गरेको सामाजिक सुरक्षा योजना अझै पनि सबै मजदुरसम्म पुगेको छैन भने।
कार्यक्रममा महासचिव केशवबहादुर थापा, उपमहासचिव विष्णुबहादुर पराजुली, जिफन्ट उपाध्यक्ष अर्जुन अर्याल, सौन्दर्यकर्मी युनियन उपाध्यक्ष मञ्जु गुरुङ, तथा बागमती प्रदेश अध्यक्ष शङ्कर थापालगायतले शुभकामना मन्तव्य राखेका थिए।
भरतपुर महानगरअन्तर्गत तरकारी तथा फलफूल बजारमा कार्यरत ८० जना मजदुरहरूको सहभागितामा गठन भएको ढुवानी इकाई कमिटीको चौथो अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व निर्विरोध चयन गरेको छ।
प्रतिक्रिया