सरकारकै कारण सार्वजनिक यातायात ध्वस्त बन्यो: मजदुर नेता भीमज्वाला राई

आइतबार, २२ असार २०८२

विर्तामोड :  सार्वजनिक यातायातमा एक पैसा पनि लगानी नगरेको सरकारले बहुराष्ट्रिय कम्पनी र बिचौलियाहरूको दबाबमा निजी लगानीकर्ताले दशकौंको मेहनतले उभ्याएको यातायात क्षेत्रलाई नै ध्वस्त बनाउने अभियान थालेको मजदुर नेता भीमज्वाला राईले आरोप लगाएका छन्।

विर्तामोडमा आयोजित एक श्रमिक भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले भने, "सरकारले सार्वजनिक यातायातमा स्वदेशी लगानीकर्तालाई हेपेर ठूला कम्पनीहरूलाई सजिलो पार्ने नियत देखाएको छ।" उनका अनुसार सडक, ट्राफिक व्यवस्था, पेट्रोलियम आपूर्ति र सवारी कर सबै क्षेत्रमा सरकारको नीति जनविरोधी हुँदै गएको छ।

राईले पछिल्लो समय सरकारले ठूला व्यवसायिक घराना र बहुराष्ट्रिय कम्पनीहरूलाई निजी सवारी सेवा सञ्चालन गर्न सहज वातावरण बनाइरहेकोमा चिन्ता व्यक्त गरे। "यस्ता निर्णयले जनताको पहुँचमा रहेको सार्वजनिक यातायात थप महँगो, असुरक्षित र अपारदर्शी बन्ने खतरा छ," उनले भने।

उनले देशभर हजारौंले रोजगारी पाएका सार्वजनिक यातायात क्षेत्रलाई संरक्षण गर्नुपर्नेमा उल्टो कमजोर बनाउने निर्णयहरू गरिँदा सरकारको नियतमाथि शंका उत्पन्न भएको बताए। "जनताको गोजी र मजदुरको पेट दुवै सिँध्याउने यो षड्यन्त्रविरुद्ध हामी सशक्त प्रतिवाद गर्छौं," राईको चेतावनी थियो।

भेलामा विभिन्न जिल्लाबाट आएका यातायात मजदुर, सहचालक र साना सवारी सञ्चालकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममार्फत सार्वजनिक यातायात क्षेत्रप्रति सरकारले गरिरहेको नीति र नियतमाथि गम्भीर पुनरावलोकन गर्न माग गरियो ।

सर्वसम्मत नयाँ नेतृत्व चयन  
अधिवेशनले छत्रबहादुर रायमाझी (केदार) को अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा दुर्गा खड्का, सचिवमा धनबहादुर गिरी, सहसचिवमा टेकनाथ खतिवडा र कोषाध्यक्षमा सुदर्शन थापा रहेका छन् ।  
सदस्यहरुमा राजकुमार सुवेदी, जयप्रकाश उराँव, करण पोखरेल, मदन खड्का, डिल्लीराम अधिकारी, यामनाथ भण्डारी, विक्रम खनाल, बनोज बस्नेत रहेका छन् ।  
त्यस्तै अन्य सदस्यहरुमा नरेन्द्र राजवंशी, कमला श्रेष्ठ, लोकनाथ निरौला र याम तिम्सिना रहेका  छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार