जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा थप पर्यटक भित्र्याउन अयोध्यालाई जनकपुरधामसँग जोड्न आवश्यक रहेको बताएका छन् ।
जनकपुरधाममा आयोजित स्थानीय सरकार, मधेश प्रदेश सरकार, पर्यटन व्यवसायी र सरोकारवालाबिच पर्यटन प्रचार प्रसार तथा अन्तरक्रिया कार्यक्रमको मङ्गलवार समापन सत्रमा बोल्दै मुख्यमन्त्री सिंहले अयोध्याको राम मन्दिरमा दर्शन गर्न श्रद्धालु र पर्यटकहरूमध्ये १० प्रतिशत पर्यटकलाईमात्र जनकपुरधाम ल्याउन सक्ने वातावरण निर्माण गर्न सकिए नेपालमा भित्रिने कुल पर्यटकको सङ्ख्या भन्दा बढी पर्यटक मधेश प्रदेशमा आउने बताए । उनले यसका लागि प्रचार प्रसारमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । मुख्यमन्त्री सिंहले जनकपुरधाम आउने पर्यटकहरूलाई कम्तीमा ५ दिनसम्म मधेश प्रदेशका सम्पूर्ण पर्यटकीय स्थलहरू घुमाउने गरी प्याकेज बनाएर राख्नु पर्ने बताए ।
मुख्यमन्त्री सिंहले भारतीय नागरिकहरूलाई भन्सार तिर्न डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्ने सरकारसङ माग गरे । भारतीय पर्यटकहरूको सहजताका लागि डिजिटल माध्यमबाट नेपालको जुनसुकै कुनाबाट आफ्नो सवारी साधनको भन्सार तिरेर थप केही दिन नेपाल घुम्न सक्ने किसिमको सुविधा सरकारले ल्याउनु पर्ने मुख्यमन्त्री सिंहले उल्लेख गरे ।
त्यस्तै, मुख्यमन्त्री सिंहले धनुषा धाममा रामायणमा चर्चा भएका १३६ वटा बोट बिरुवाहरूलाई एकै ठाउँमा राखेर धनुषाको धनुषा धाममा रामायण वाटिका निर्माण गर्न लागेको जानकारी समेत दिए ।
कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका पदाधिकारी, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका पदाधिकारी, होटल व्यवसायी, मधेश प्रदेशका ८ वटै जिल्लाका पत्रकार महासङ्घका पदाधिकारी, विभिन्न पर्यटन क्षेत्रमा कार्यरत व्यक्ति विशेषहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया