मेची राजमार्गको वैकल्पिक मार्गको रूपमा रहेका दुईवटा खोलामा बेलीब्रिज निर्माण

बुधबार, २५ असार २०८२

इलाम : इलाममा मेची राजमार्गको वैकल्पिक मार्गका रूपमा दुई वटा खोलामा बेली ब्रिज निर्माण कार्य सम्पन्न भएको छ। पुवा माई खोलाको भाङ टार र जोगमाई खोलाको माई बेनीमा निर्माण भएका यी ब्रिजले मेची राजमार्गमा कुनै समस्या आउँदा वैकल्पिक रूपमा यातायात सञ्चालनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

इलामको भन्ज्याङ–बेलासी सडक खण्डमा मेची राजमार्गको द्रुत र वैकल्पिक मार्ग अन्तर्गत मोडुलर बेली ब्रिज निर्माण सम्पन्न भएको छ। पुवा खोलामा निर्माण भएको पुलको कुल लागत एक करोड ३५ लाख ४४ हजार रुपैयाँ रहेको छ। डिभिजन सडक कार्यालय इलामका सूचना अधिकारी अर्जुन घिमिरेका अनुसार, यस ब्रिजले १५ टनसम्मको भार धान्न सक्छ र ठूलो सवारीसाधन पनि आवत जावत गर्न सक्ने गरी निर्माण गरिएको छ। निर्माण कार्य ठेकेदार कम्पनी सागर, शुभारम्भ एरीसा जेभीले सम्झौता अवधि भन्दा २० दिन ढिलो भए पनि पूरा गरेको छ। एप्रोच रोडमा पनि सडक विस्तार र ग्यावियन पर्खाल निर्माण गरिएको छ।

यस पुलको निर्माणपछि वर्षा ऋतुमा समेत मेची राजमार्गमा सवारी साधन सञ्चालन सम्भव भई, मेची कोरिडोर अन्तर्गत भन्ज्याङ–बेलासी सडक मार्ग प्रयोग हुन थालेको छ।

त्यस्तै, मेची राजमार्गको अर्को वैकल्पिक मार्ग सीमलगोलाई–तिल्केनी सडक खण्डमा पनि ४२ मिटर लामो बेली ब्रिज निर्माण सम्पन्न भएको छ। माई बेनीमा निर्माण भएको यस ब्रिजको लागत दुई करोड तीन लाख २९ हजार रुपैयाँ छ। यहाँ पुरानो पुवा खोलाको ब्रिजलाई स्थानान्तरण गरी केही भागमा नयाँ फलाम किनेर जडान गरिएको छ।

कार्यालयका इन्जिनियर घिमिरेका अनुसार, पुरानो पुलका फलामका सामानमा करिब ४० प्रतिशत खिया लागेकोले नयाँ सामग्री थपिएको हो। पुल वरिपरि ग्यावियन पर्खाल निर्माण गरी राउत चौधरी जेभीले निर्माण सम्पन्न गरेको छ।

पुवा खोलाको बेली ब्रिजले एक पटकमा १५ टन र जोगमाई खोलाको बेली ब्रिजले १० टनसम्मको भार लिएर सवारी आवत जावत गर्न सक्नेछन्। गत वर्ष मेची राजमार्गमा आएको क्षतिकै कारण सवारी सञ्चालनमा समस्या आएको थियो भने यस वर्ष यी बेली ब्रिजहरू निर्माण भएपछि त्यस्ता समस्या हट्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार