दाउन्ने सडकखण्ड एक वर्षमै ६३ पटक बन्द

आइतबार, ०४ साउन २०८२
तस्बिर : फाइल

मध्यविन्दु (नवलपरासी) : बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जनक बन्जाराका अनुसार पछिल्लो एक वर्षमा उक्त सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको छ । यीमध्ये अधिकांश घटना भारी वर्षासँगै आएको पहिरो वा खसेको माटोले सडक अवरुद्ध हुँदा भएका थिए । सडक मर्मतका क्रममा ठुला उपकरण जाम हुँदा र ट्रक बिग्रिएर रोकिँदा पनि घण्टौँसम्म बाटो थुनिएको थियो ।

दाउन्ने क्षेत्रको विश्वकर्मा मन्दिर, घ्युखोला, त्रियासी मोडलगायत क्षेत्रमा बढीजसो सडक अवरुद्ध भएको पाइएको छ । बुटवल–नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको हो ।

जम्मा १४ किलोमिटर दूरी रहेको दाउन्ने क्षेत्रमा गत आर्थिक वर्ष विगतको भन्दा धेरैपटक सडक अवरुद्ध भएको प्रमुख बन्जाराले बताए । ‘वर्षाको समयमा लगातार पहिरो, हिलो र सडक कटानका कारण तथा घाम लागेका दिनमा खाल्डाखुल्डी र धुलोले दाउन्ने क्षेत्र सधैँ जसो समस्याग्रस्त बनिरहेको छ’, उनले भने ।

गत पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासको विनयी खोला पुल भाँचिएपछि यस क्षेत्रको यातायात थप अस्तव्यस्त बनेको थियो । सो अवधिमा निर्माण गरिएको अस्थायी डाइभर्सन पटकपटक खोलाले बगाउँदा यातायात अवरुद्ध हुने गरेको थियो । गत असार १९ गतेदेखि विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएपछि सो समस्या टरेको छ ।

दाउन्ने सडकखण्ड विस्तारका लागि गत चैत २७ देखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र वैशाख १ देखि ३१ गतेसम्म रातिको ११ बजेदेखि बिहान ५ बजे बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएको थियो । अहिले दाउन्ने खण्डमा पर्खाल लगाउने, कल्भर्ट निर्माण र सडक ढलानको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।

नारायणगढ–बुटवल सडक खण्डको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित ६ र जोखिम बढी रहेको क्षेत्र मानिने दाइउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।

रु १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले हालसम्म तीन पटक म्याद थपिसकेको छ । यही साउन मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार