कांग्रेस कास्कीमा रस्साकस्सी : बरालको चेतावनी— ‘८४ मा देखाइदिन्छु’ भन्न बन्द गरौँ!

विहीबार, ०८ साउन २०८२

पोखरा : नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीबाट कारबाहीमा परेका नेता कृष्णबहादुर केसीलाई ८४ सालको धम्कीपूर्ण अभिव्यक्ति बन्द गर्न चेतावनी दिएका छन्।

खुला पत्रमार्फत बरालले केसीको कारबाही व्यक्तिगत प्रतिशोध नभई पार्टीको अनुशासन र नैतिक मूल्य जोगाउने प्रयास भएको स्पष्ट पारेका छन्।

कांग्रेस केन्द्रीय अनुशासन समितिले निर्वाचनमा असहयोग गरेको भन्दै केसीलाई तीन महिनाका लागि पार्टी सदस्यता निलम्बन गरेको थियो। त्यसयता काङ्ग्रेसभित्र कारबाहीको पक्ष र विपक्षमा मत विभाजन देखिएको छ।

कारबाहीपछि केसीले सामाजिक सञ्जालमा बरालप्रति आक्रोश पोख्दै ८४ मा देखाइदिने चेतावनी दिएका थिए।

बरालले त्यसको प्रत्युत्तर दिँदै ‘भ्रमपूर्ण अभिव्यक्तिले तपाईँलाई फाइदा गर्दैन’ भन्दै केसीलाई संयमित रहन आग्रह गरेका छन्। उनले पार्टी बदल्ने प्रवृत्तिले नेता र सङ्गठन दुवै कमजोर बनाउने चेतावनी पनि दिएका छन्।

‘जो आज छन्, भोलि नहुन सक्छन्,’ बरालले लेखेका छन्, ‘यो समय गुट होइन, अनुशासन र मूल्यको राजनीति गर्ने हो।’

 

बरालले लेखेको खुल्ला पत्र यस प्रकार छ ।

आदरणीय कृष्णबहादुर केसी ज्यु

जय नेपाल ।

धेरै भएछ सामान्य औपचारिकता बाहेक तपाईंसग भेट र कुराकानी नभएको । कहिँ न कहिँ गल्ती भएकै कारण यस्तो भएको हुन सक्छ । यस्तो किन भयो ? त्यो तपाईंले राम्रो सग बुझ्नु भएको छ ।

केही दिन अगाडि मात्र नेपाली काङ्ग्रेस , केन्द्रिय अनुशासन समितिले तपाईंलाई कारबाहीका लागि सिफारिस गरेको कुरा सामाजिक संजालबाट थाहा पाए । तपाईंलाई स्वभाविकरूपमा दुख लागेको हुन सक्छ । यसलाई मैले राम्रो सग बुझेको छु । यसको अर्थ म खुशी छु भन्ने पनि होइन । मैले यसो भन्दा तपाईलाई पत्याउन गाह्रो पनि हुन सक्छ । तर सत्य यहीँ हो । अर्काको अवनति र अपमानमा खुशी हुने मेरो र मेरो पारिवारको राजनीतिक पृष्ठभूमि होइन भन्ने कुरालाई तपाईले राम्रो सग बुझ्नु पनि भएको छ । मैले पनि तपाईंको परिवारको बारेमा राम्रै सग बुझेको छु । तपाईंको परिवारका सदस्यहरु सग म हिजोको दिनमा धेरै कारणले जोडिएको छु । तपाईंको परिवारको कुनै सदस्यसग लामो समय एउटै बिधालयमा काम गरेको छु भने कतिपय सदस्यहरुलाई मैले पढाएको पनि छु । यसको अर्थ हो , हामी दुईको बीचमा राजनीतिक सम्बन्ध मात्रै होइन , एउटा राम्रो शैक्षिक र पारिवारिक सम्बन्ध पनि छ । यसैले, उच्च राजनीतिक र सामाजिक चेतनाका साथ यो पत्र तपाईलाई लेखेको छु । यसलाई राजनीतिक सामाजिक चेतनाको यहीँ उचाईबाट बुझ्नु होला ।

अब प्रश्न उठ्न सक्छ र उठाईन पनि सक्छ कि, यस्तो थियो भने अनुशासनको कारबाहीको लागि किन उजुरी गरेको ? किन एक आपसमा बसेर धोइ पखाली नगरेको ? ब्यक्तिगत र पारिवारिक तहबाट सोच्दा यी प्रश्नहरु भित्र शक्ति छ र प्रश्नहरु जायज पनि देखिन्छन् । तर राजनीतिक तहबाट सोच्दा मैले मेरो राजनीतिक पद र त्यसको जिम्मेवारी तर्फ पनि सचेत हुनु पर्ने हुन्छ । ब्यक्तिगत नाफा नोक्सानको हिसाब किताब म सग मात्रै जोडिन्छ । राजनीतिक नाफा नोक्सानको हिसाब किताब पुरा पार्टी , समाज र समग्र भविष्यसग जोडिन्छ । यसैले मेरो राजनीतिक जिम्मेवारीका कारण पनि मैले कतिपय तपाईंका राजनीतिक कमिकमजोरीहरुलाई ब्यक्तिगत तहबाट बिर्सन, भुल्न र तपाईंसगै बसेर मिलाउन सकिन । यदि यसो गरिएको भए यो एउटा राजनीतिक कमजोरी र नेपाली काङ्ग्रेस प्रतिको बेइमानी हुने थियो ।

अब एकै छिन तपाईंलाई २०७९ को सघीय निर्वाचनको प्रारम्भिक चरण तर्फ लैजान चाहान्छु जतिबेला कास्कीको कुन निर्वाचन क्षेत्रमा गठबन्धनको कुन पार्टीले निर्वाचन लड्ने भन्ने तय समेत भएको थिएन । यसमा सबै इच्छुक साथीहरूले आ:आफ्नो प्रयास गर्नु स्वभाबिक थियो । यहीँ बीचमा मैले तपाईंलाई टेलिफोनबाट सम्पर्क गरे र तपाईले मलाई तपाई बस्नु भएको लाजिम्पाटको कुनै होटेल ( नाम सम्झना भएन ) मा बोलाउनु भयो । त्यतिबेला म सग मोहन ज्ञवाली सर (जो अहिले हामी बीच हुनुहुन्न ) र नेपाली काङ्ग्रेस , पोखरा वडा नम्बर १३ का पुर्व इकाई सभापति भाई अर्जुन सिग्देल सगै हुनुहुन्थ्यो । म उहाँहरु दुबै जनालाई लिएर तपाईं बस्नु भएको होटेलमा पुगे । त्यतिबेला सामान्य कुराकानी पछि तपाईंले मलाई शुरुमै भन्नु भयो , " किशोर जी , टिकट कुन क्षेत्रले पाउछ अझै निधो छैन । मैले पनि प्रयास गरिरहेको छु , पार्टी सभापति भएका कारण तपाईंको दाबी पनि स्वभाविक देखिन्छ । पार्टी सभापति लड्ने बेलामा तपाईले अरु निर्वाचन लड्दिन भनेर भन्नु भएको भए पनि राजनीतिमा यसले खासै अर्थ राख्दैन । एउटा परिस्थितिमा भनिएको कुरा अर्को परिस्थितिमा नमिल्न पनि सक्छ । पहिला हामी दुबै मिलेर कास्की निर्वाचन क्षेत्र न १, नेपाली काङ्ग्रेसलाई पार्ने प्रयास गरौ । अरु कुरा पछि गरौंला । मैले केही नबोल्दै तपाईले मलाई सोध्नु भयो , किशोर जी , तपाई प्रदेशमा निर्वाचन लड्ने कि नलड्ने ? मैले भने , म प्रदेशमा लड्दिन । यदि नेताहरुले बिश्वास गरेर टिकट दिनु भयो भने सघमा लड्छु । त्यसमा पनि मैलेनै टिकट पाउनु पर्छ भन्ने मेरो ठुलो जोड पनि छैन । हेरौ के हुन्छ ? " यसको लगत्तै मैले तपाइँलाई सोधे " तपाई प्रदेशमा लड्ने कि नलड्ने ? सघमा प्रयास गरिरहनु भएको छ गर्नुहोस् । मेरो शुभकामना छ । यदि सघमा टिकट मिलेन भने प्रदेशमा भए पनि तयार हुनुहोला ।" मेरो यो कुरा सक्न नपाउदै तपाईंले अत्यन्तै आक्रोशित भएर भएर भन्नु भयो , म प्रदेशमा लड्दिन , यदि सघमा मलाई टिकट दिएनन् र अरु कसैलाई दिए भने देखाईदिन्छु । कम्युनिस्टबाट आएको हु , बिद्रोह गर्न जानेको छु ।" मैले तपाईंलाई रोक्दै भने " यस्तो के भन्नु भएको ? तपाईं जस्तो नेता यसरी प्रस्तुत हुन हुन्छ ? अहिले पनि अझै सम्भावना छदैछ , यदि यतिबेला भएन भने पनि अर्को ठाउमा वा अर्को चुनावमा पनि मौका आउछ । " मलाई रोक्दै तपाईले भन्नु भयो " मलाई मतलब छैन , अहिले म ६२/६३ बर्षको भए अर्को पटक मेरो छोराको उमेरका युवाहरु आउछन । यसैले यहीँ पटक मौका पाए लड्छु हैन भने देखाईदिन्छु । मैले फेरि पनि भने " तपाईंको छोराको लागि पनि त जिम्मेवार बन्नुहोस न त्यसो भए । तपाईंले अझै रुखो भएर भन्नु भयो " मलाई त्यो पनि मतलब छैन । छोराको राजनीति छोराले गर्ने हो , मेरो राजनीति मैले गर्ने हो । कृष्ण केसी को बिद्रोह कस्तो हुन्छ , म देखाई दिन्छु । म , मोहन ज्ञवाली सर र अर्जुन भाई असरल्ल पर्यौ । यो सबै तपाईंको मानसपटलमा अवश्य पनि जीवन्त छ ।

कृष्ण जी , एकै छिन तपाई मेरो ठाउमा उभिएर हेर्नुहोस त । आफैलाई सोध्नुस् त । एउटा सभापतिको रुपमा तपाईंसग छलफल गरिरहेको मलाई तपाइँको उक्त प्रस्तुतिहरुले कस्तो अनुभुती दियो होला ? त्यतिबेला मेरो मन भित्र के गुज्रिएको थियो होला ? मेरो आफ्नो स्वाभिमान कति दुख्यो होला ? यदि तपाईं सहज र प्रेमपुर्बक प्रस्तुत हुनु भएको भए परिस्थिति र परिणाम फरक पनि हुन सक्थ्यो । मैले देखाईदिन्छु भनेर थर्काए पछि कोही पनि प्रतिस्पर्धामा आउदैनन र टिकट स्वतह: प्राप्त हुन्छ भन्ने तपाईंको यो गलत मनोबिज्ञानको प्रयोग अरु केही प्रतिस्पर्धिहरु साथीहरूलाई समेत गर्नु भएको जानकारी जब मलाई प्राप्त भयो त्यस पछि मलाई यो घटनाले थप गम्भीर र जिम्मेवार बनायो । जसको कारण यस्तो गलत प्रवृत्ति भएको मानिसलाई टिकट दिने हो भने यो राम्रो हुदैन भन्ने निष्कर्षका साथ मैले टिकट प्राप्तिको आफ्नो कृयाशीलताई बढाए । जुन कृयाशीलताले मलाई टिकट पनि दिलायो ।

म तपाईंलाई स्मरण गराउन चाहान्छु , प्रधानमन्त्री निवास बालुवाटारबाट टिकट लिएर निस्कदै गर्दा तपाईंसग भेट भएको थियो । मैले तपाईंलाई सगै पोखरा जानकालागि अनुरोध पनि गरे । उम्मेदवार मनोनयनमा तपाईं हुनै पर्छ भने । तपाईं जादै गर्नुहोस , म आउदै गर्छु भनेर तपाईले भने पछि म तपाई सग बिदा भएर हिडेको हु । तपाई मनोनयनमा पनि आउनु भएन । त्यस पछि के भए यो सबै छर्लङ्ग नै छ । मनोनयन दर्ता भए पछि तपाईंका जे जस्ता गुनासा र प्रतिक्रियाहरु आए त्यस पछि म तपाईको घरमा पटक पटक गएको थिए । तपाइको श्रीमती ( शान्ति मेडम ) को रोहवरमा तपाईको राजनीतिक भविष्य र आउने समयमा लिन सकिने जिम्मेवारीका बारेमा पनि दिलै खोलेर कुरा गरेको सम्झना तपाईंलाई अवश्य पनि छ । राजु स्वामी (गुरु)लाई लिएर पनि तपाईंलाई भेटेर सबै सम्भावित कुराहरु पनि गरिएकै हो । तपाईंले भन्नु भयो म सहयोग गरिहाल्छु नी , सहयोग गरेकै त छु नी आदि आदि । मुखले एउटा कुरा गर्नु भयो , व्यबहारले अर्को । बाकि कुरा सबै साथीहरूले देख्नु भएको छ , बुझ्नु भएको छ र अनुभुती गर्नु भएको छ । पत्र लामो हुने भएकोले अरु धेरै लेखिन ।

कृष्ण जी , निर्वाचन भयो , परिणाम पनि आयो । मेरो पराजय तपाईंको असहयोग वा अन्तरघातका कारण भएको हो भनेर मैले कहिल्यै पनि भनेको छैन। त्यो मेरो बुझाई पनि होइन । प्रमाणहरुले पुष्टि गरे अनुसार मेरो भनाई यत्ति थियो तपाईंले निर्वाचनमा असहयोग गर्नु भएको हो , अन्तर्घात गर्नु भएको हो तर तपाईंको अन्तर्घातका कारणले मात्रै मेरो पराजय भएको भने होइन । मेरो पराजयमा थुप्रै कारणहरु छन , हुन सक्छन् त्यसलाई मैले अनुभुति गरेको छु । यस बारेमा थप केही आवश्यक भए पछि कुरा गरौंला ।

नेपाली काङ्ग्रेसको कुनै जिम्मेवार सदस्यले निर्वाचनमा असहयोग गरेको वा अन्तर्घात गरेको कुनै प्रमाण भए प्रमाण सहित केन्द्रिय अनुशासन समितिमा निवेदन दिनु भन्ने सूचना मुताविक मैले र प्रदेश क्षेत्र न १ ख का उम्मेदवार दिपक गुरुङ ( माइला ) ले थुप्रै प्रमाणहरुका साथ तपाईंको विरुद्ध संयुक्त निवेदन दिएका थियौ हामीले दिएको प्रमाण सहितको निवेदन , तपाईंले दिनु भएको स्पष्टीकरण र अन्य आवश्यक अध्ययनका आधारमा अनुशासन समितिले कारबाही गरेको कुरा बाहिर आयो । ब्यक्तिगतरुपमा हेर्दा यसले तपाईंको मन दुखेको पनि हुन सक्छ तर पार्टीको तर्फबाट हेर्दा यसले राम्रो सन्देश दिएको छ र पार्टीलाई बलियो बनाउने आधार तयार भएको छ भन्ने कुरा तपाईंले पनि स्वीकार गर्नु पर्ने हुन्छ र यसलाई सम्मान गर्ने चेतनाको विकास गर्नु पर्ने हुन्छ ।

कारबाहीको यो घटनाले कसरी राम्रो सन्देश दिएको छ ? र कसरी पार्टी बलियो हुने आधार तयार भएको छ ? भन्ने तर्फ एकै छिन तपाईंलाई अलिकति अगाडि लिएर जान चाहान्छु ।

बिस २०४८ साल देखि २०७९ सम्म आउदा हिजो पनि निर्वाचनका विभिन्न प्रकरणहरुमा घात अन्तरघातहरु भए , कतिपय देखिने गरि र कतिपय नदेखिने गरी । देखिने गरि भएका असहयोग र अन्तरघातहरुमा सम्लग्न ब्यक्तिहरुलाई कारबाही गर्नु पर्छ भनेर थुप्रै उजुरीहरु पनि परे । ती उजुरीहरु माथि कारबाही गरेको भए , पार्टीका बिरुद्ध विभिन्न प्रकरणमा घात अन्तरघात गर्नेहरुलाई पार्टीबाट निष्कासन वा निलम्बन गरेको भए पार्टी अनुशासनहिनताको यो गम्भीर मोडमा उभ्भिने थिएन । अनुशासनको कारबाही गरेर पार्टीका पुराना र दुख पाएका नेताहरुलाई पार्टीबाट निष्कासन वा निलम्बन गर्दा पार्टी कमजोर हुन्छ र कारबाही गरेका ब्यक्तिहरु अन्य पार्टीमा जान सक्ने देखिएकोले माफी दिएर वा त्यो घटनालाई बिर्सिएर सुध्रन दिनु पर्छ भन्ने मनोबिज्ञानले त्यतिबेला पनि राम्रो सग काम गरेको थियो ।

जसले गर्दा अनुशासनको कारबाहीलाई गम्भीरतापुर्वक लिईएन , कारबाही गरिएन । जसको फलस्वरूप घात अन्तर्घातका शृङ्खलाहरु झनै डरलाग्दो गरि बड्दै गए । गलत गरेकालाई कारबाही नगर्दा पार्टी बलियो हुन्छ भन्ने नैतिक सम्झौताको लक्षण अपनाइयो र पार्टीलाई झनै कमजोर बनाउने राजमार्ग निर्माण गरियो । यसरी पार्टीले कारबाही नगर्दा पार्टीमा जे गरे पनि हुन्छ भन्ने डरलाग्दो मनोबिज्ञानलाई पार्टी भित्र प्रवेश गरायौ । यसलाई नरोक्ने हो भने भोलिको दिनमा अनुशासनहिनताको झनै ठुलो , डर लाग्दो र खुलेआम अन्तरघात हुने परिस्थितिको निर्माण गरिरहेका हुनेछौ भन्ने ठानेर यसलाई रोक्ने प्रयास गर्नु पर्छ भन्ने राजनीतिक चेतनाका साथ मैले उजुरी गरेको हु । तपाईंलाई स्मरण गराऔ, नेपाली काङ्ग्रेस भित्र पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टी आदर्श, सिद्धान्त र अनुशासनको आधारमा सञ्चालन हुनुपर्छ भन्ने मान्यता जतिसुकै दोहोर्याए पनि व्यवहारमा भने हामी अकसर नैतिक सम्झौताको बाटो रोजिरहेका हुन्छौं। पार्टीभित्र अनुशासन उल्लंघन गर्ने, अन्तर्घात गर्ने, वा संस्थाको मूल हितविरुद्ध काम गर्नेहरूलाई "भोलिका लागि उपयोगी होलान्", "समर्थक छन्", "गुट मिलाउनुपर्छ" भनेर माफ गरिरहने प्रवृत्तिले नैतिक मूल्यहरूलाई क्षत-विक्षत बनाइरहेको छ।

यसलाई मनोवैज्ञानिक रूपमा "Moral Compromise Syndrome" भनिन्छ — जहाँ अल्पकालीन सहुलियत वा समीकरण मिलाउन दीर्घकालीन सिद्धान्तको बलिदान गरिन्छ।

यसको उदाहरण नेपालमा थुप्रै छन् । भ्रस्टाचारमा मुछिएका नेताहरूलाई जोगाउनु, पार्टीभन्दा व्यक्तिको प्रभावलाई प्राथमिकता दिनु, गुट समेट्न अनुशासन बिर्सनु — यी सबैले एकै कुरा देखाउँछ: हामी सिद्धान्त होइन, समीकरणमा वा गुटमा बाँच्न थालेका छौं ।

त्यस्ता सम्झौताहरूले तत्काल शान्ति ल्याए पनि अन्ततः पार्टीको विश्वास, संगठनको संरचना, र कार्यकर्ताको मनोबल भत्काउँछ।कसैको लोकप्रियता, पहुँच वा शक्ति जति नै भए पनि, यदि उनी पार्टीको मूल मान्यता र अनुशासनविरुद्ध छन् भने उनीहरूलाई माफ गर्नु “समावेशीता” होइन, आत्मघात हो। नैतिक सम्झौता जहाँ हुन्छ, त्यहाँ संस्थागत क्षय अनिवार्य हुन्छ।

कृष्ण जी , म जहिले पनि नेपाली काङ्ग्रेसले नैतिक सम्झौताको बाटो अवलम्बन गर्नु हुदैन र पार्टीलाई अनुशासन र मर्यादाको डोरीले कसिलो गरि बाध्नु पर्छ भन्ने विचारको पक्षपाति हु । यसैले यो मेरो ब्यक्तिगत आग्रह पुर्वाग्रहको उजुरी थिएन । नेपाली काङ्ग्रेसलाई नैतिक सम्झौताको बाटोबाट जोगाउन गरिएको संकल्प थियो ।

कृष्ण जी , अनुशासनको कारबाही समयमै गर्नु पर्ने थियो , ढिलो भयो , बेमौसमको बाजा भयो आदि इत्यादि जे भनिए पनि पार्टी भित्र गलत गर्नेलाई कारबाही गर्ने प्रक्रिया शुरु भएको छ । कारबाही ढिलो भयो भन्नु प्रक्रियागत कुरा भयो जसले भएका कमजोरी र अपराधहरुलाई छोप्न सक्दैन भन्ने कुरा तपाई राम्रै सग बुझ्नुहुन्छ । यसैले यो कारबाहीबाट ढाटेको - टालेको छोप्न सकिदैन भन्ने उखानको चरितार्थ भएको छ । पार्टीको हित बिपरित काम गरेको , अन्तरघात गरेको वा असहयोग आदि जे गरे पनि त्यसलाई लुकाउन सकिदो रहेनछ , आम मानिसले थाहा पाउदो रहेछ , आफ्नो अगाडि राम्रो राखे पनि वा तपाईं जस्तो महान मानिस भनेर जे जस्तो बिशेषण जोडे पनि भित्र भित्र समाजले खिस्सिट्युरी गर्दो रहेछ , गिज्याउदो रहेछ र पार्टीले पनि कारबाही गर्दो रहेछ भन्ने जुन सन्देश बाहिर आएको छ यसो हुनु भनेको पनि यो एउटा महान उपलब्धि हो । अब उप्रान्त जो कोहीले पनि पार्टीको बिरुद्द असहयोग गर्न वा अन्तरघात गर्नु भन्दा पहिला गम्भीर भएर सोच्नु पर्ने भएको छ । यसले आगामी दिनमा पार्टीको उज्ज्वल भविष्य प्रति संकेत गरेको छ ।यो उपलब्धि तपाईंको भोलिको राजनीतिक भविष्यका निम्ति पनि धेरै राम्रो र सुखद हुन सक्छ भनेर पनि बुझ्नु होला । यसै भएर यो राजनीतिक उचाईलाई बचाउनका लागि राजनीतिक रुपमै उजुरी गर्नु पर्ने परिस्थितिको सिर्जना भएको हो । उजुरी दर्ता भयो , जे जस्तो भए पनि कारबाही भयो । पार्टी संगठनका लागि यो महत्त्वपूर्ण सन्देश हो । जे भयो, थुप्रै सकारात्मक सन्देश दिएर एउटा पाटोको अन्त्य भयो । उजुरीको उद्देश्य पनि एक हद सम्म पुरा भयो । यो कुरा यहीँ श्रावण ६ गते नेपाली काङ्ग्रेस , गण्डकी प्रदेश कार्यसमितिले आयोजना गरेको बी पी स्मृति दिवसका दिन पनि मैले तपाईकै उपस्तिथिमा सार्वजनिकरुपमा राखिसकेको पनि छु । त्यो मेरो अभिव्यक्तिलाई पुनः एक पटक स्मरण गर्नुहोला ।

कृष्णजी, अब म घात अन्तर्घातका यी सबै घटनाहरुलाई कोट्याउन चाहान्न । तपाईं बिरुद्धको कारबाही छोटो भयो वा लामो भयो ? कडा भयो वा नरम ? तपाईका लागि गरिएको कारबाही फिर्ता भयो वा भएन ? अब यो मेरो चासोको बिषय भएन । यो ठाउमा आईपुगे पछि अब म यी घात अन्तरघातका घटनाहरुलाई पुर्णरूपमा बिर्सन चाहान्छु । सक्नु हुन्छ भने तपाई पनि भुल्नु होला ।

मैले उम्मेदवार हुने टिकट पाइन भने बिद्रोह गर्छु र देखाईदिन्छु भनेर थर्काउदा टिकट प्राप्त हुन्छ भन्ने हिजोको ( २०७९ ) तपाइको त्यो अभिमानपुर्ण भनाईले न त तपाईंलाई राम्रो गर्यो न त पार्टीलाई । ठिक त्यसरी नै कारबाही फिर्ता भएन भने ८४ मा देखाईदिन्छु भन्ने जस्ता तपाईका धम्कीपुर्ण अभिव्यक्तिहरुले पनि तपाईंलाई अगाडि बढाउने चरीत्र बोकिरहेका छैनन भन्ने तर्फ पनि जिम्मेवार हुन अनुरोध गर्दछु । यतिबेला केही साथीहरूले कारबाही फिर्ता हुनुपर्छ भनेर भन्नु भएको भनाईबाट तपाई हौसिनु भएको पनि हुन सक्छ । यता तर्फ पनि गम्भीर हुनुहोला । सबै मेरा शुभचिन्तकहरु रहेछन् भनेर भ्रममा नपर्नु होला ।यो तपाई प्रतिको माया , श्रद्धा र तपाईंको राजनीतिक भविष्य प्रतिको चिन्ता भन्दा पनि गुट प्रतिको भक्तिभाब र गुट भित्रबाट आफ्नो भविष्य खोज्नेहरुको चलाखीपुर्ण भुमिका हो । जो आज हुन्छन , भोलि हुदैनन । यो भ्रममा परेर स्वतन्त्र निर्वाचन लड्छु वा जे पनि गर्न सक्छु भन्ने जस्ता कमजोर अभिव्यक्तिहरु नदिनुहोला । यसले तपाईं अर्को पार्टी तर्फ जान खोज्नु भएको संकेत गर्छ । यो फेरि अर्को ठुलो गलती हुन्छ । घरी घरी पार्टी बदल्ने प्रवृत्तिले राजनीतिकरूपमा झनै कमजोर बनाउछ भने सामाजिकरुपमा पनि पातलो र फिक्का बनाउछ । घृणा , आक्रोश र प्रतिशोध भन्दा पनि आफुलाई बलियो बनाउने भनेको आफ्नो आचरण , व्यबहार , कर्म र आफ्नो क्षमता अभिवृद्धिले हो । यसलाई यसरीनै राम्रो सग बुझ्ने सामर्थ्य प्राप्त होस भन्ने शुभकामना व्यक्त गर्दछु ।

पत्र धेरै लामो भएछ । पत्र लामो भए पनि यो तपाई प्रतिको मेरो ब्यक्तिगत सम्बन्धले भरिएको प्रेमपुर्ण अभिव्यक्ति हो । प्रेमपुर्ण अभिव्यक्तिहरु सधै लामै हुने गर्छन । यसलाई पनि यसरी नै बुझनु होला ।

जय नेपाल ।

तपाईंको मित्र

किशोर दत्त बराल

मिति :२०८२ श्रावण ८ गते ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार