दिक्तेलका नगरप्रमुख भोलीदेखि आमरण अनसनमा, आन्दोलन दोस्रो चरणमा प्रवेश

मंगलबार, १३ साउन २०८२
File Photo

काठमाडौं : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले आफ्ना ७ बुँदे मागहरू पूरा नभएको भन्दै साउन १४ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गरेका छन्।

नगरसभा–२०८२ मा पारित नीति तथा कार्यक्रमअनुसार साउन ११ गतेदेखि सुरु भएको सत्याग्रहको पहिलो चरण आज (साउन १३) सम्म शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि सरकारले कुनै गम्भीर चासो नदेखाएको भन्दै नगरप्रमुख भट्टराईले आन्दोलनको दोस्रो चरणमा आमरण अनशनको निर्णय गरेका हुन्।

सत्याग्रहको मागमा बाँदर तथा अन्य वन्यजन्तुबाट कृषिमा भएको क्षतिपूर्ति, जलवायु परिवर्तन र पर्यावरणीय संकटको सम्बोधन, बाँस र गाँजाजस्ता वनस्पतीको उपयोगसहितको बिल्डिङ कोड निर्माण, तथा स्थानीय स्रोत–साधनको समुचित उपयोग जस्ता विषय समेटिएका छन्।

कार्यवाहक नगरप्रमुख विसन राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“नगरप्रमुख भट्टराईद्वारा घोषणा गरिएको सत्याग्रह न त कुनै राजनीतिक स्वार्थका लागि हो, न त व्यक्तिगत फाइदाका लागि। यो जलवायु न्याय, स्थानीय स्रोत–साधनको संरक्षण र भावी पुस्ताको सुरक्षित भविष्यका लागि ऐतिहासिक संघर्ष हो।”

सत्याग्रहमा ऐक्यबद्धता जनाउने राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, विद्यार्थी, बुद्धिजीवी, श्रमिक तथा संघ–संस्थाप्रति धन्यवाद व्यक्त गरिएको छ। साथसाथै, आगामी चरणमा पनि यस्तै साथ र सहभागिताको अपेक्षा गरिएको छ।

विज्ञप्तिमा नगरप्रमुख भट्टराईको जीवनरक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोग लगायत सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराइएको छ। साथै सरकारसँग वार्ता र संवादमार्फत सत्याग्रहका मागहरू शीघ्र सम्बोधन गर्न आग्रह गरिएको छ।

यदि मागहरू सम्बोधन भएनन् भने, यो सत्याग्रह लोकतान्त्रिक अधिकार अन्तर्गतको अन्तिम संघर्षका रूपमा अघि बढ्ने चेतावनी पनि दिइएको छ।

May be an illustration of text

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार