श्रावणको तेश्रो सोमबारः पिण्डेश्वर मन्दिरमा भक्तजनको घुइँचो (फोटो फिचर)

सोमबार, १९ साउन २०८२

धरान : साउन महिनाको आरम्भसँगै धरान उपमहानगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिक स्थल पिण्डेश्वर बाबाधाम मन्दिरमा एक महिनासम्म सञ्चालन हुने बोलबम मेला जारी छ । विशेषतः आज साउनको तेश्रो सोमबारको अवसरमा बिहानैदेखि हजारौं श्रद्धालुको उल्लेखनीय उपस्थिति देखिएको छ ।

‘अमृतपिण्ड पिण्डेश्वर महादेव’ का रूपमा परिचित यस मन्दिरमा धार्मिक आस्था, पौराणिक कथा र प्राकृतिक सौन्दर्यको संगम पाइन्छ । मेला बाहेक पनि यहाँ दैनिक सयौँ श्रद्धालु दर्शनका लागि पुग्ने गर्दछन् ।


धरान–३ की पवित्रा सुवेदीले हरियो चुरा, पोते र साडीमा सजिने परम्परा साउन महिनाको विशेषता भएको बताइन् । सोमबारको व्रत बसेर शिव मन्दिरमा पूजा–आराधना गर्ने यो धार्मिक अभ्यासलाई उनले आत्मचिन्तन र आध्यात्मिक उन्नतिको अवसरका रूपमा पनि लिने गरेको उल्लेख गरे ।

साउन विशेषतः विवाहित महिलाहरूका लागि धर्म, संस्कृति र सौभाग्यको प्रतीक मानिन्छ । महिलाहरू व्रत बस्ने, शाकाहारी भोजन गर्ने, हरियो चुरा–मेहेन्दी लगाउने र शिव पूजामा सहभागी हुने परम्परा पछ्याउने गर्दछन् ।


शास्त्र अनुसार, हरियो रङ हरियाली, प्रेम र आशाको प्रतीक हो भने पहेँलो पवित्रता र रातो सौभाग्य को संकेत हो । यी रङहरूको संयोजनमा सजिएर महिलाहरूले व्रत बस्दा पार्वती देवीको अनुसरण गर्ने धार्मिक विश्वास रहँदै आएको छ ।


जनविश्वास अनुसार, समुद्र मन्थनका क्रममा उत्पन्न अमृतको पिण्ड यस स्थानमा खसेको मानिन्छ, जसले पिण्डेश्वर मन्दिरलाई विशेष धार्मिक महत्त्व प्रदान गरेको छ । यही कारणले देश–विदेशबाट श्रद्धालु यहाँ आउने गर्छन् ।
सप्तकोसी नदीको संगमस्थलबाट ल्याइएको जल पिण्डेश्वरमा चढाउँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । भारतका बिहार, झारखण्ड, उत्तर प्रदेश लगायतका क्षेत्रबाट आएका गेरुवस्त्रधारी शिवभक्तहरू ‘बोलबम’, ‘हर हर महादेव’ को नारासहित पैदल यात्रा गर्दै मन्दिरमा जल चढाउन आइपुगेका छन् ।


स्कन्ध पुराणमा समेत उल्लेखित यस मन्दिरमा जल अर्पण गर्दा पुण्य प्राप्त हुने विश्वासले साउन महिनाको सोमबार मन्दिरमा भक्तजनको अपार भिड लाग्ने गर्दछ ।


विसं २०४२ सालदेखि परम्परागत रूपमा सुरु भएको बोलबम मेलामा पछिल्ला वर्षहरूमा भक्तजनको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । अत्यधिक भीडलाई व्यवस्थापन गर्न मन्दिर बिहान ३ बजेदेखि नै खुला गरिएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।


मेलाको सफलताका लागि प्रशासन, सुरक्षा निकाय, स्थानीय बासिन्दा र धार्मिक संघ,संस्थाको सहकार्यमा जलपान, विश्रामस्थल र पूजासामग्रीको अस्थायी स्टलहरू सञ्चालनमा ल्याइएको छ ।


मन्दिरको बाहिरी स्वरूप सामान्य देखिए पनि भित्र पस्दा यसको विशालता स्पष्ट हुन्छ। यहाँ १० भन्दा बढी साना–ठूला मन्दिर, शिवलिङ्गको अगाडि ढुङ्गाको बसाहा, ऐतिहासिक पोखरी र बीचमा सरस्वतीको मूर्ति रहेका छन्, जसले यसको धार्मिक सांस्कृतिक महत्वलाई अझ गहिरो बनाउँछ ।


साउने सोमबार, महाशिवरात्रि, तीज, माघे सङ्क्रान्ति, कात्तिक पूर्णिमा जस्ता अवसरमा यहाँ भक्तजनको उल्लेखनीय भिड लाग्ने गर्दछ । साथै हाल शनिबार र मङ्गलबार पनि भक्तजनको बाक्लो उपस्थिति देखिन थालेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले बताए ।

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार