विराटनगर : नेपाल स्काउट कोशी प्रदेशका दिवस राजवंशी स्काउटको नेतृत्व विकास तालिम Course for Assistant Leader Trainer (CALT) मा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय सहायक प्रशिक्षक बन्न सफल भएका छन्। नेपाल सरकार अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले हालै सार्वजनिक गरेको नतिजामा उनी सफल घोषित भएका हुन्।
राजवंशीले स्काउट आन्दोलनमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय योगदान दिँदै आएका छन्। २०४७ सालमा नरग्राम मावि ट्रुपबाट स्काउट यात्रा सुरु गरेका उनले २०५५ सालमा मोरङ रोभर रेन्जर क्रुमा आवद्ध हुँदै सेवा तालिम समेत प्रदान गरेका थिए। त्यसै वर्ष पोखरिया माविमा संस्थापक स्काउट मास्टर बनेका राजवंशी २०६० मा एड्भान्स स्काउट मास्टरको रूपमा समेत प्रमाणित भएका थिए।
पूर्वाञ्चल स्कुल र मोरङ जिल्लामा विभिन्न तहमा स्काउट नेतृत्व सम्हालेका उनले सूर्य किरण ओपन स्काउट क्रु स्थापना गरी विराटनगरमा सक्रिय बनाएका थिए। जेम्बोरी, क्याम्पिङ, जेम्बोरेट लगायतका थुप्रै राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रममा उनले निरन्तर सहभागिता जनाएका छन्।
२०७२ सालमा उनले राष्ट्रिय सहायक प्रशिक्षक तालिम लिएपछि निर्धारित दुईवटा मास्टर तालिम र एक एड्भान्स तालिम सम्पन्न गर्दै हालै सोही कोर्स अन्तर्गत राष्ट्रिय सहायक प्रशिक्षकको उपाधि प्राप्त गरेका हुन्। स्काउटको प्रतिष्ठित दीर्घ सेवा पदक पाइसकेका राजवंशीको समर्पणलाई नेपाल स्काउटले प्रेरणाको स्रोतका रूपमा हेर्ने विश्वास व्यक्त गरेको छ।
नेपाल स्काउटले उनलाई बधाई दिँदै आगामी दिनमा उनको योगदानले स्काउट आन्दोलनको विकास र विस्तारमा थप सशक्त भूमिका खेल्ने अपेक्षा व्यक्त गरेको छ।
प्रतिक्रिया