इलाम । पछिल्लो समय इलाममा लागूऔषध प्रयोगकर्ताको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय इलामको पछिल्लो तथ्यांक अनुसार लागूऔषधसम्बन्धी मुद्दा तथा यसमा संलग्न व्यक्तिको संख्यामा क्रमिक वृद्धि देखिएको छ।
प्रहरी तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/०८१ मा १८ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए भने ३४ जना व्यक्ति पक्राउ परेका थिए। तर, आर्थिक वर्ष ०८१/०८२ मा मुद्दाको संख्या २७ पुगेको छ र पक्राउ पर्नेको संख्या ५२ मा उक्लिएको छ।
गएको आर्थिक वर्षमा प्रहरीले २५.९६ ग्राम ब्राउन सुगर, ८१६ ग्राम गाँजा, ३.३९ ग्राम अफिम, नाइट्रोसनका चार ट्याब्लेट र १.२० ग्राम नाइट्रोसनसमेत बरामद गरेको छ। जिल्ला प्रहरी प्रमुख एक नारायण कोइरालाका अनुसार नेपाल–भारतबीचको ५२ किलोमिटर खुला सिमानाका कारण लागूऔषध ओसारपसार अझै चुनौतीपूर्ण बन्दै गएको छ।
प्रहरीले विद्यालयस्तरसम्म लागूऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम चलाए पनि समस्याको निराकरण हुन सकेको छैन। प्रहरीले केही समययता सवारी चेकजाँचमा कडाइ गरेको छ। तर पनि १८ वर्ष मुनिका किशोरदेखि वृद्धसम्म यसमा संलग्न हुँदै गएकाले चिन्ता थपिएको प्रहरीको भनाइ छ।
इलाममा दिनप्रतिदिन बढ्दो लागूऔषधको प्रभावले युवापुस्तामाथि गम्भीर असर पारिरहेको भन्दै प्रहरीले नागरिकस्तरबाट पनि सचेतना अभियानमा सहकार्य आवश्यक भएको बताएको छ।
प्रतिक्रिया