विराटनगर । कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाबाट विद्युत् ट्रान्सफर्मर चोरीका घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ७ जना ट्रान्सफर्मर चोरीमा प्रत्यक्ष संलग्न रहेको र बाँकी ५ जना चोरी गरिएको तामाको तार किन्ने व्यापारी रहेको प्रहरीले जनाएको छ।
मङ्गलवार कोशी प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर ट्रान्सफर्मर चोरी सम्बन्धी विवरण सार्वजनिक गरेको हो ।
२०७८ माघ १५ गतेदेखि २०८२ साउन ७ गतेसम्म विभिन्न मितिमा ट्रान्सफर्मर चोरीका घटना भएका थिए। मोरङमा ८, सुनसरीमा १२ र झापामा २ स्थानगरी कुल २२ स्थानमा ट्रान्सफर्मर चोरी भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ।
तीमध्ये अधिकांश ट्रान्सफर्मरहरू कृषि सिँचाइ, खानेपानी आयोजना तथा ग्रामीण विद्युत् आपूर्तिका लागि प्रयोग हुँदै आएका थिए। चोरी गरिएका ट्रान्सफर्मरको क्षमता २५ केभीएदेखि २०० केभीएसम्म रहेको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
ट्रान्सफर्मर चोरीका कारण खेतबारीमा सिँचाइ हुन नसकेर किसानले रोपाइँ गर्न नपाएको गुनासो प्रहरीसमक्ष पुगेपछि प्रादेशिक अपराध अनुसन्धान समूह, विराटनगरको नेतृत्वमा मोरङ, सुनसरी र झापाका प्रहरीले संयुक्त रूपमा अनुसन्धान थालेका थिए।
सादा पोसाकमा ३५ जना प्रहरी परिचालन गरी गरिएको अनुसन्धानपछि मोरङको ग्रामथान गाउँपालिका –४ का ४२ वर्षीय अर्जुन कुमार माझीलाई रंगेहात पक्राउ गरिएको थियो। माझीसहित मोरङका इरज धामी, अर्जुन चौधरी, रञ्जित तामाङ, अनुज विश्वास, भारतका आलम मिया र सुनसरीका प्रयाग कुमार खाँ चौधरी गरी ७ जना ट्रान्सफर्मर चोर्ने पक्राउ परे।
त्यस्तै चोरी गरिएका तामाका तार खरिद गर्ने कवाडी व्यापारीका रूपमा मोरङ विराटनगरका लक्ष्य प्रधान र कृष्ण गोपाल ताम्राकार, सुनसरी दुहबीका योगेश अग्रवाल र कपिल भट्ट, इटहरीका सिताराम राई गरी ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट चोरीमा प्रयोग गरिएका औजारहरू—डायल रेन्च, पेचकस, पिलास, छिनो, ह्याक्सो, साङली, ग्राइन्डरलगायत उपकरणहरू बरामद गरिएका छन्। त्यस्तै ६ वटा मोटरसाइकल, १ वटा पिक अप गाडी, १२ थान मोबाइल फोन र ३६८.५ केजी तामाको तार समेत बरामद गरिएको छ।
तामाका तारहरू इटहरी, विराटनगर, बुढीगंगा, दुहबी लगायत स्थानका कवाडी पसलहरू र डेरा कोठाहरूबाट फेला परेका हुन्। बिनय शाहले सञ्चालन गरेको बुढीगंगास्थित मेटल फ्याक्ट्रीबाट मात्र ११५ केजी तामाको तार बरामद गरिएको प्रहरीले जनाएको छ भने दिलीप चौधरीको इटहरीस्थित दिलीप कवाडी पसलबाट १२० केजी तार फेला परेको थियो।
चोरी भएका ट्रान्सफर्मरहरूबारे विवरण हेर्दा अधिकांश ग्रामीण भेगमा रहेका हुन्—सुनसरीको रामधुनी नगरपालिका, इटहरी उपमहानगरपालिका, देवानगञ्ज गाउँपालिका, मोरङको बुढीगंगा, बेलबारी, सुन्दरहरैंचा, ग्रामथान लगायतका स्थानहरूमा चोरी भएका थिए।
यस समूहको योजनाबद्ध चोरीबाट राज्यलाई करिब दुई करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। हाल पक्राउ परेकाहरूलाई अदालतमार्फत कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने, अन्य सम्भावित संलग्नहरूको खोजी जारी रहेको प्रहरीको भनाइ छ।
प्रहरीले सार्वजनिक सम्पत्तिमा गरिएको यस्ता आपराधिक गतिविधिमाथि कडा निगरानी राख्दै जाने बताएको छ।
प्रतिक्रिया