सप्तरी गोलीकाण्ड : चारबुँदे मागसहित ज्ञापनपत्र बुझाइयो

बुधबार, २१ साउन २०८२

सप्तरी :सप्तरीको राजगढ गाउँपालिकामा प्रहरीको गोली लागेर स्थानीय लालुप्रसाद यादवको मृत्यु भएपछि गाउँपालिकास्तरीय संघर्ष समिति गठन गरिएको छ।

स्थानीय युवा दीपेन्द्र यादवको संयोजकत्वमा गठित संघर्ष समितिले आज साँझ प्रमुख जिल्ला अधिकारीलाई चारबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा यादवलाई गोली प्रहार गर्ने प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्न माग गरिएको छ। साथै, जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) विरुद्ध विभागीय कारबाहीको मागसमेत राखिएको छ।

साथै यादवको घटनालाई गम्भीर रुपमा लिएर उच्चस्तरीय छानबिन समिति गठन गर्न, मृतकलाई सहिद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, र सीमाक्षेत्रमा प्रहरीद्वारा सिर्जित आतङ्क बन्द गर्दै शान्ति सुरक्षा सुनिश्चित गर्न माग गरिएको छ।

सङ्घर्ष समितिले चौबीस घण्टाभित्र मागहरू पूरा नभए कडा आन्दोलनको घोषणा गर्ने चेतावनीसमेत दिएको छ।

मङ्गलबार राति प्रहरीले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भयो।

नेपाल–भारत सीमाबाट मदिरा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले नियन्त्रण गर्न खोज्दा स्थानीयसँग झडप भएको र ढुङ्गामुडा भएपछि गोली चलाउनुपरेको प्रहरी पक्षको दाबी छ। तर मृतकका परिवारले यादवलाई नियन्त्रणमा लिएर नियोजित रूपमा गोली हानिएको आरोप लगाएका छन्।

यसैबीच, सप्तरी उद्योग वाणिज्य संघले पनि लालुप्रसाद यादवको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ। संघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार