फिदिम : गत साउन १६ गते राति फिदिमको जिल्ला बन कार्यालय अगाडि पार्किङ गरिएको कमल घिमिरेको नाममा दर्ता भएको मोटरसाइकल (प्र.१–०३–००१प–०७११) दुईपटक चोरीमा परेको घटना उजागर भएको छ।
प्रारम्भिक अनुसन्धानमा सिसिटिभी फुटेजका आधारमा बाइक लुङरुपातर्फ गएको देखिएपछि प्रहरीले खोजी थालेको थियो। यसबीच, अर्को मुद्दामा हिरासतमा रहेका करण मगर र सन्दीप लावतीले उक्त बाइक चोरेको स्वीकार गरेका थिए। उनीहरूले बन कार्यालयबाट चोरेर तमोर करिडोर हुँदै नाँवा खोलाको झोलुङ्गे पुल पार गरी छाडेको बयान दिएका थिए। तर, प्रहरीले खोज्दा त्यहाँ बाइक फेला परेन।
पछिल्लो अनुसन्धानमा धनकुटा चौविसेका कुमार तामाङले छाडिएको बाइक फेरि चोरी गरी तेह्रथुमस्थित मामा घरमा लुकाएको पत्ता लागेको प्रहरीले जनाएको छ। हाल बाइकसहित तामाङलाई फिदिम ल्याइएको छ।
जिल्ला प्रहरी प्रमुख कौशल कुमार बुढाथोकीका अनुसार घटनामा संलग्न सबैको पहिचान भइसकेको छ र मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया