काठमाडौं : १८६औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल)ले शनिबार काठमाडौंको हनुमानढोका परिसरमा एकल फोटो प्रदर्शनी आयोजना गरेको छ ।
यस वर्ष संस्थाले समूहगत कार्यक्रमको सट्टा आफ्ना केन्द्रीय अध्यक्ष तथा वरिष्ठ फोटोपत्रकार प्रदीपराज वन्तको “Flight and Frame” शीर्षकमा एकल फोटो प्रदर्शनी आयोजना गरेको हो । दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म चलेको प्रदर्शनीमा वन्तले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा अफिसियल फोटोपत्रकारका रुपमा हवाइजहाजबाट खिचिएका नेपालका विभिन्न जिल्लाका भौगोलिक तथा पर्यटकीय क्षेत्रका ६० वटा तस्वीर सार्वजनिक गरेका थिए ।
एनएफपिजे नेपालले पहिलो पटक यसरी एकल फोटो प्रदर्शनी आयोजना गरेको हो । महासचिव घनश्याम श्रेष्ठका अनुसार यस प्रदर्शनीले फोटोग्राफी दिवसलाई अझ अर्थपूर्ण बनाउनका साथै फोटो पत्रकारिताको महत्वलाई समाजसामु स्पष्ट रूपमा प्रस्तुत गर्ने उद्देश्य राखिएको छ । उनले आगामी दिनमा संस्थाका अन्य सदस्यहरूको समेत एकल प्रदर्शनी गर्ने योजनाबारे जानकारी दिए ।
राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकारसमेत रहेका अध्यक्ष वन्तले प्रदर्शनीलाई सर्वसाधारणसम्मै लक्षित गरिएको बताए । उनले भने, “स्थानीय बासिन्दा, देशी–विदेशी पर्यटक तथा फोटोप्रेमी सबैलाई लक्षित गरेर हनुमानढोकामा प्रदर्शनी आयोजना गरिएको हो ।”
कार्यक्रमको उद्घाटन संस्थाका पूर्वअध्यक्ष तथा वरिष्ठ फोटोपत्रकार मिनरत्न बज्राचार्य र कविन्द्रमान शाक्यले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा फोटोपत्रकार, सञ्चारकर्मी, फोटोप्रेमी तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो । प्रदर्शनी अवलोकन गर्न आएका विदेशी पर्यटकहरूले समेत उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
प्रतिक्रिया