इटहरी : युवाको सृजनशीलता र उद्यमशीलतालाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित तीनदिने आईआईसी इनोभेक्स ३.० भव्यतापूर्वक सुरु भएको छ।
भाद्र ४ देखि ६ गतेसम्म चल्ने यो महोत्सवलाई नेपालकै सबैभन्दा ठूलो विद्यार्थी–नेतृत्वको नवप्रवर्तन र उद्यमशीलता प्रदर्शनको अवसरका रूपमा लिइएको छ।
गत वर्षको उल्लेखनीय सफलतापछि यसपटक देशभरका १६ कलेजका प्रतिभावान् विद्यार्थीहरूले फाइनान्स फीट, लिगल सिम्पोजियम, मार्केटिङ माभेन, सिइओ क्रोनिकल्स लगायतका प्रतिस्पर्धात्मक उप–इभेन्टमार्फत आफ्नो सृजनशीलता, रणनीतिक सोच र व्यापारिक दृष्टिकोण प्रस्तुत गरिरहेका छन्।
भाद्र ५ गते हुने दोस्रो दिनको कार्यक्रमलाई विशेष ध्यान दिइएको छ, जहाँ सहभागीहरूले ग्रुप टास्क प्रेजेन्टेशन र इन्डिभिजुअल टास्क प्रेजेन्टेशन मार्फत वास्तविक व्यापारिक चुनौतीहरूको समाधान प्रस्तुत गर्दै आफ्नो नवप्रवर्तनशील सोचलाई प्रस्ट रूपमा अभिव्यक्त गर्नेछन्। यसले उनीहरूको क्षमतालाई मात्र होइन, भावी सम्भावनालाई पनि उजागर गर्नेछ।
कार्यक्रमका प्रोग्राम लिडर अच्युतराज भट्टराईका अनुसार, “इनोभेक्स ३.० ले विद्यार्थीहरूलाई राष्ट्रिय स्तरको प्लेटफर्म प्रदान गर्दै उनीहरूको प्रतिभा उद्योग, मिडिया र रोजगारीका अवसरहरूसँग प्रत्यक्ष जोड्नेछ।”
यस महोत्सवले नवप्रवर्तनप्रेमी, विद्यार्थी, व्यावसायिक उत्साही र उद्यमशीलतालाई रुचाउने सबैका लागि प्रेरणादायी ऊर्जा र अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। आयोजकहरूले इच्छुक सबैलाई इटहरीमा भेला भई “युवा ऊर्जाको अद्वितीय उत्सव” अनुभव गर्न आमन्त्रण गरेका छन्।
प्रतिक्रिया