काठमाडौं : गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” सुरु भएको छ । ‘साझा जिम्मेवारी, समान प्रतिबद्धता स् प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मूल नारासहित दुई दिनसम्म चल्ने यस सम्मेलनको उद्घाटन गृहमन्त्री लेखकले पानसमा दीप प्रज्वलन गरेर गरे ।
उद्घाटन समारोहमा पहिलो महिला प्रहरी चैतमाया डंगोल, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक डा.दुर्गा थापा र पूजा सिंह, प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा तथा जुनी राईलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सम्मेलनलाई ऐतिहासिक माइलस्टोनका रूपमा वर्णन गर्दै महिला प्रहरीहरूको साहसिक योगदानले समाजमा सकारात्मक परिवर्तन ल्याएको बताए । उनले यौनजन्य अपराध, लागूऔषध, सवारी दुर्घटना, आत्महत्या र साइबर अपराध जस्ता चुनौतीहरूमाथि नियन्त्रणमा महिला प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
यस अवसरमा न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, महान्यायाधिवक्ता रमेश वडाल लगायत विशिष्ट अतिथिहरूले सम्मेलनको महत्वबारे आ–आफ्नो धारणा राखे ।
प्रहरी महानिरीक्षक दिपक थापाले महिला प्रहरीहरूको सहभागिता संगठनमा बढ्दै गएको बताउँदै सम्मेलनले अनुभव आदान–प्रदान तथा आगामी पुस्तालाई मार्गनिर्देशन दिने कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा महिला प्रहरीको इतिहास र नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ सम्बन्धी वृत्तचित्र पनि प्रदर्शनी गरिएको थियो ।
नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ अन्तर्गत लैङ्गिक समानता र न्यायलाई मूलप्रवाहिकरण गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो सम्मेलन महिला प्रहरीको सशक्तिकरणतर्फको महत्वपूर्ण पहलका रूपमा लिइएको छ ।
प्रतिक्रिया