काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्री हटाएर नयाँ मन्त्री नियुक्त गर्न आलटाल गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी दुई जना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ।
शनिबार बसेको जसपा पदाधिकारी बैठकले सरकारमा सहभागी खानेपानी मन्त्री प्रदीप यादव र महिला मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाउने विषयमा छलफल गरेको हो।
जसपा नेपालबाट विभाजन भइ बनेको जसपाका हाल सात जना सांसद छन्। उनीहरुलाई पालैपाले मन्त्री बनाउनुपर्ने बाध्यता अध्यक्ष अशोक राईलाई छ। वर्तमान सरकारमा दुई मन्त्री सहभागी छन्।
उनीहरुलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने बाध्यतामा रहेका राईले प्रधानमन्त्री ओलीलाई नयाँ मन्त्रीको नाम यसअघि नै बुझाइ सकेका छन्। तर प्रधानमन्त्री ओलीले नयाँ मन्त्री बनाउन आलटाल गरेको भन्दै जसपाले सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो।
‘सरकारमा पठाउँदा नै एक वर्षका लागि भनेर कार्यकाल तोकिएको थियो,’ जसपा स्रोतले भन्यो, ‘एक वर्ष पूरा भइसक्दासमेत मन्त्री परिवर्तन भएका छैनन्। पार्टीले नयाँ मन्त्रीको नाम नै प्रधानमन्त्रीलाई दिइसक्दासमेत मन्त्री परिवर्तन गर्न प्रधानमन्त्रीले इच्छा देखाउनु भएको छैन। अब सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने तयारी छ।’
मन्त्री फिर्ता बोलाएपनि सरकारलाई दिएको समर्थन भने जारी राख्ने जसपाले जनाएको छ। जसपाले यादव र सुडीको ठाउँमा डा. वीरेन्द्र महतो र मञ्जु झालाई मन्त्री बनाउने तयारी गरेको छ।
अध्यक्ष अशोक राईले प्रधानमन्त्रीले मन्त्री मण्डल पुर्नगठन गर्दा आफ्नोतर्फबाट सरकारमा सहभागी मन्त्री पनि परितर्वन हुने बताए। ‘प्रधानमन्त्रीजीले मन्त्री मण्डल पुर्नगठन गर्दा हाम्रो पार्टीबाट सरकारमा सहभागी मन्त्री पनि परिवर्तन हुन्छन्,’ अध्यक्ष राईले डिसी नेपालसँग भने।
प्रधानमन्त्री ओलीले सरकार गठन भएको एक वर्ष पूरा भएदेखि नै मन्त्रिपरिषद पुनर्गठन गर्न खोजेका थिए,
आफ्नोतर्फबाट सरकारमा सहभागी भएका, नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित अन्य दलका मन्त्रीसमेत परिवर्तन गरेर नयाँ टीम बनाउने प्रधानमन्त्रीको चाहना सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक नहुँदा पूरा हुन सकेको छैन।
कांग्रेस सभापति देउवा आफ्ना मन्त्री फेर्न तयार नभएपछि प्रधानमन्त्री ओलीले एमालेका केही मन्त्रीलाई परिवर्तन गर्न चाहेका छन्। तर कहिले परिवर्तन गर्ने भन्ने विषयमा कुनै निर्णय भइनसकेको बालुवाटार स्रोतले जनाएको छ।
प्रतिक्रिया