ब्राउन सुगरसहित ६ पक्राउ : झापामा दिनानुदिन बढ्दै लागुऔषध कारोबार

सोमबार, ०९ भदौ २०८२

 झापा : पछिल्लो समय झापामा लागुऔषध कारोबार बढ्दै गएको प्रहरीले जनाएको छ।

आइतबार साँझ झापा प्रहरीले ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।  विशेष सूचनाको आधारमा झापा भद्रपुर नगरपालिका–८ बस्ने २१ वर्षीय राज श्रेष्ठको घरमा छापा मार्दा प्रहरीले लागू औषध (ब्राउन सुगर) बिक्री वितरण भइरहेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये राज श्रेष्ठसँगै विभिन्न ठाउँमा बस्ने अन्य पाँच जना पनि रहेका छन्।

प्रहरीले नियन्त्रणमा लिएकाहरूमा भद्रपुर नगरपालिका–१० बस्ने २३ वर्षीय अलताप सेख, भद्रपुर–७ बस्ने १९ वर्षीय रमित राजवंशी, भद्रपुर बस्ने २९ वर्षीय सुमित पासी. भद्रपुर–८ बस्ने २१ वर्षीय राज श्रेष्ठ,दिङको रुबीभ्याली गाउँपालिका–५ बस्ने २४ वर्षीय गुम लामा, काठमाडौँ तारकेश्वर नगरपालिका–६ बस्ने १९ वर्षीय न्यान्जी तामाङ रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले २०.४८ ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, ८ थान मोबाइल, नगद १४ हजार १ सय ७० रुपैयाँ, खुकुरी १ थान, प्लास, स्क्रुड्राइभर लगायतका सामग्री बरामद गरेको जनाएको छ।

झापा प्रहरीले पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

पछिल्लो समय झापा जिल्ला लागुऔषध कारोबारको मुख्य ‘हटस्पट’ बन्दै गएको प्रहरीको भनाइ छ। नियमित रूपमा लागुऔषधसहित युवाहरू पक्राउ पर्न थालेको र यसले जिल्लामा युवामाझ लागुऔषध प्रयोग र वितरण बढ्दो क्रममा रहेको देखाएको प्रहरी अधिकारीहरुले बताएका छन्।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार