धरान । नेपालको प्रमुख शक्तिपीठमध्ये धरान उपमहानगरपालिका–१४ विजयपुरमा रहेको दन्तकाली मन्दिरमा यस वर्ष पनि हर्षउल्लासका साथ फूलपाती भित्र्याइएको छ । आज सोमबार दिउँसो साइतअनुसार दिउँसो साढे १ बजे दन्तकाली मन्दिरबाट पञ्चे बाजागाजासहित नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासी सहभागी भएको टोली बुढासुब्बा मन्दिर हुँदै पिण्डेश्वर मन्दिर पुगेको थियो । त्यहाँबाट डोलीसहित फूलपाती ल्याई दन्तकाली मन्दिरमा विधिपूर्वक बलिपूजा सम्पन्न गरी भित्र्याइएको हो ।
मन्दिरका मुल पुजारी विश्वराज खनालका अनुसार पुजारीहरूले विहानै नौ किसिमका फूल र पाती सङ्कलन गरी राख्ने परम्परा रहेको छ । तीमध्ये बेल, धान, केरा, दारिम, अशोकलगायतका फूलपातीलाई विधिपूर्वक डोलीमा राखेर दन्तकाली मन्दिरमा ल्याइएको थियो । उनले बताएअनुसार फूलपातीलाई मन्दिरभित्र प्रवेश गराइसकेपछि पूजा हुने र दशमीको दिन अपराजिताको पूजा सम्पन्न गरेपछि विसर्जन गरिने प्रचलन छ ।
खनालका अनुसार, दशैंको सातौं दिन अर्थात् फूलपाती भित्र्याउने दिनलाई दन्तकाली मन्दिरमा विशेष महत्वका साथ मनाइन्छ । यस दिन भित्र्याइएको फूलपातीलाई देवी शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ र अपराजिताको पूजा सम्पन्न भएपछि मात्र विसर्जन गरिन्छ । यो परम्परा पुस्तौंदेखि निरन्तर चल्दै आएको उनले जानकारी दिए ।
प्रतिक्रिया