दमक : आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमक झापाको भवन पुनःस्थापित गरिएको छ । पुनःस्थापित गरिएसँगै प्रहरीहरु काममा फर्किएका छन् ।
आज फूलपातीका अवसर पारेर प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनासहित इलाका प्रहरी कार्यालयमा सेवारत प्रहरीहरुलाई फूलमाला, खादा ओढाएर स्थानीयले स्वागत गरेको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंले बताए । प्रहरीहरुलाई कोशी प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापालगायतले स्वागत गरेका थिए ।
जेनजी प्रदर्शनका क्रममा आगजनीबाट दमक प्रहरीका पाँचवटा पक्की भवन र गाडीहरुमा क्षति पुगेको थियो भने प्रहरीका पोसाक, हतियारहरुसमेत लुटिएको थियो । लुटिएका हतियारलगायत सामानहरु अझै फिर्ता नभएको प्रहरीको भनाइ छ । प्रहरीले हराएका हतियारहरु सम्बन्धित कार्यालयमा बुझाउन आग्रह गरेको छ ।
आगजनीपछि यहाँका सबै प्रहरी भद्रपुरस्थित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । दमक नगरपालिकाको विशेष पहलमा सात दिनअघि मात्र उक्त प्रहरी टोली दमक–८ को अग्र्यानिक सब्जी मन्डीको भवनमा अस्थायी रुपमा सरेका थिए । इलाका प्रहरीको पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य सङ्घ र ट्राफिक प्रहरीको स्थानीय रोयल स्पोर्टिङ क्लब दमकले अगुवाइ गरेको थियो ।
ती दुवै कार्यालयको भवन पुनर्निर्माण गरी जति छिटो ती कार्यालय पुनःस्थापित गराउन विभिन्न क्षेत्रबाट नगद तथा जिन्सी सहयोगस्वरुप प्राप्त भएको थियो । प्रहरी पुनःस्थापित भएपछि यहाँको शान्तिसुरक्षा तथा अमनचयन कायम गर्न मद्दत पुग्ने दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुरागाईंले बताए ।
क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य सङ्घले रु पाँच लाख, दमक नगर इसाई समाजले दुई लाख १६ हजार ६५५ सहयोग रकम उपलब्ध गराएको थियो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार जिल्लामा विस्थापित प्रहरी कार्यालयहरु स्थानीयहरुको सहयोगमा धमाधम पुनःस्थापित हुँदै छन् । जिल्लामा ६९ वटा प्रहरी कार्यालयसहित युनिटमा तोडफोड तथा आगजनी गरिएका थिए ।
प्रतिक्रिया