हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने सवारी साधनलाई शुक्रवारदेखि चार दिनका लागि राति आवागमनमा रोक लगाउने निर्णय गरेको छ।
मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार जल तथा मौसम विज्ञान विभागले मध्यमदेखि भारी वर्षाको सम्भावना औँल्याएपछि जनधनको क्षति न्यूनीकरण गर्न यस्तो निर्णय लिइएको हो।
प्रशासनले त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाने तथा भैँसे–भीमफेदी मार्ग भएर राजधानी प्रवेश गर्ने सवारी साधनलाई शुक्रवार अपराह्न ५ बजेदेखि बिहान ६ बजेसम्म रोक लगाएको छ।
त्यस्तै, हेटौँडा हुँदै कान्तिलोकपथमार्फत काठमाडौँ जाने सवारी साधनलाई पनि शुक्रवार अपराह्न ४ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले सोमबार अर्थात् असोज २० गतेसम्म हेटौँडा–काठमाडौँ सडकमार्ग हुँदै रातिको समयमा सवारी साधनको आवागमन रोक लगाइएको जनाएको छ।
प्रतिक्रिया