काठमाडौँ :नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै प्रकारका कार्गो सामान कोलकाता, विशाखापटनम्, विराटनगर (जोगवनी) र नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म रेल तथा सडकमार्गबाट ढुवानी गर्न सकिने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार, संशोधनपछि नेपालका लागि पारवहन लागत र समय दुवै घट्ने तथा व्यापार सहजीकरणमा ठुलो सुधार आउने अपेक्षा गरिएको छ ।
आपूर्तिमन्त्री अनिलकुमार सिन्हा भारत भ्रमणका क्रममा भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलसँग नयाँ दिल्लीस्थित वाणिज्य भवनमा भेट गरेका थिए । सो अवसरमा पारवहन सन्धिको संशोधित प्रोटोकलको औपचारिक आदानप्रदान गरिएको थियो ।
यसअघि नेपालले भारतमार्फत केवल चार प्रकारका बल्क सामान (जस्तै मल, बालुवा, कोइला र स्टिल) मात्र रेलमार्फत ढुवानी गर्न सक्ने व्यवस्था थियो । अब भने सबै किसिमका कार्गो—औद्योगिक, निर्माण सामग्रीदेखि दैनिक उपभोग्य वस्तु—सम्म ढुवानी गर्न सकिने भएको प्रवक्ता बस्नेतले बताए ।
भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास र लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री सिन्हाले व्यापार र पारवहन सहजीकरणका लागि प्रमाणीकरण प्रक्रिया सरलीकरण गर्नुपर्नेमा जोड दिए ।
त्यस अवसरमा मन्त्री सिन्हाले भारतको ‘छिमेकी पहिला नीति’ को प्रशंसा गर्दै उक्त नीतिअनुरूप द्विपक्षीय सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे । भारतीय मन्त्री गोयलले नेपाललाई भारतको विशेष प्राथमिकता प्राप्त छिमेकी देश भएको उल्लेख गर्दै दुवै देशका पदाधिकारीलाई छलफलका विषय शीघ्र निष्कर्षमा पु-याउन निर्देशन दिएका थिए ।
उक्त भेटमा भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्मा सहित दुवै देशका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया