काठमाडौं । अब देशको भविष्य लेख्ने जिम्मा जनताको हातमा भएको भन्दै पुराना दललाई प्रतिपक्षमा समेत राख्न नहुने रास्वपाका सभापति रवि लामिछानेले बताएका छन् ।
बिहीबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिङ्गो देशलाई पुराना दलहरुले जेल जस्तो बनाएको बताउँदै अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने लडाइँ बाँकी रहेको बताएका हुन् ।
लामिछानेले भने, ‘अब हामीले आफ्नो भविष्य आफैँले लेख्ने हो । यिनलाई प्रतिपक्ष पनि नराख्ने हो । किन राख्ने प्रतिपक्षमा ? के का लागि राख्ने ? कलिला बालबालिकाहरूको टाउको र छातीमा ताकीताकी गोली हान्नका लागि राख्ने यिनीहरूलाई ? नराख्ने म स्पष्ट गर्न चाहान्छु । मलाई कटाक्ष गर्नु छैन, पीर त छ मलाई, राज्यले म माथि जुन दमन गर्यो चित्त त दुखेको छ । तर यो कुरा मेरो निजी रहेन, मेरो व्यक्तिगत रहेन । सिङ्गो देशको कुरा हो । मैले कारागारबाट भनेको थिए यिनले मलाई जेल हाले भनेर किन चिन्ता गर्नु, जबकि सिङ्गो देशलाई यिनीहरूले जेल बनाएका छन् । अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने हो । यो लडाइँ बाँकी छ भने पनि मलाई लड्न कुनै आपत्ति छैन ।’
यस्तै सभापति लामिछानेले देशको पीडाको अगाडि आफ्नो पीडा ठूलो नभएको भन्दै आफूमाथि योजना बनाएर प्रतिशोध साँध्नेहरुलाई माफि गर्ने छाती आफूसँग भएको समेत बताएका थिए ।
लामिछानेले पटक पटकको मुद्दा मामिला र झमेलाले जनतालाई गरेको कयौँ बाचाहरू पुरा गर्न नपाएको भन्दै आफ्ना लागि जनताले बगाएको आँसुको एउटा थोपा पनि खेर फाल्न नदिने प्रतिबद्धता जनाए ।
सभालाई सम्वोधन गर्दै लामिछानेले उपस्थित आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरू, तपाईँले निर्वाचित गर्नुभएको सांसदको रूपमा मैले धित मर्ने गरी काम गर्नै पाइनँ । म तपाईँको घर आँगनमा आउनै पाइनँ, पटक पटकको मुद्दा मामिला र झमेलाले मैले गरेका कयौँ बाचाहरू पुरा गर्न नै पाइनँ, त्यो अवसर नै पाइनँ तर पनि तपाईँहरूले मेरा लागि बगाउनुभएको आँसु मलाई याद छ । त्यो आँसुको एउटा एउटा थोपा खेर फाल्न दिने छैन ।’ भने ।
प्रतिक्रिया