विराटनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङ जिल्लामा माग गरिएको निर्वाचन प्रहरीका लागि आवश्यक भन्दा वढीले दरखास्त दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ४ हजार ३ सय ८३ निर्वाचन प्रहरीका लागि दरखास्त माग गरिएकोमा हालसम्म ४ हजार ७ सय ८१ जनाले दरखास्त दिएका हुन् ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार माग भन्दा मंगलबारसम्म ३ सय ९८ जना बढीले आवेदन दिइसकेका छन् । दरखास्त दिनेहरूमध्ये ३ हजार ४ सय ३७ जना पुरुष र १ हजार ३ सय ४४ जना महिला रहेका छन् । आवेदन लिने काम पुस २५ गते शुक्रबारबाट सुरु गरिएको हो भने आगामी माघ १ गतेसम्म रहने छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अझै दुई दिन दरखास्त दिने समयमा बाँकी रहेकाले अझ बढीको दरखास्त पर्ने अनुमान गरिएको छ ।
निर्वाचन प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा आवेदन दिन आउने युवायुवतीको बाक्लो उपस्थिति रहदै आएको छ । आवेदन परेकामध्येबाट आवश्यक मापदण्डभित्र परेकालाई छनोट गरी निर्वाचन अवधिभर परिचालन गरिने जनाइएको छ ।
प्रतिक्रिया