विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१६ दैया क्षेत्रमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरिएको ठूलो परिमाणको माछा प्रहरीले बरामद गरेको छ।
आज (बुधबार) गते बिहान करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी बरिष्ठ नायब निरीक्षक तिलक कार्कीको कमाण्डमा खटिएको सात जनाको प्रहरी टोलीले दरैयाबाट विराटनगरतर्फ जाँदै गरेको को १९ प १३१ नम्बरको मोटरसाइकललाई शङ्कास्पद अवस्थामा रोकी जाँच गर्दा पछाडि लोड गरिएका दुई वटा कार्टुनभित्र ८० केजी रहु र बिकासी जातका जलकपुर माछा फेला परेको हो।
प्रहरीका अनुसार उक्त माछा अवैध रूपमा भारतबाट नेपालतर्फ भन्सार छली ल्याइँदै गरिएको थियो। बरामद माछाको अनुमानित मूल्य २४ हजार रुपैयाँ र मोटरसाइकलको ५० हजार रुपैयाँ गरी जम्मा ७४ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ। घटनामा संलग्न मोटरसाइकल चालक मोरङ विराटनगर महानगरपालिका–६ बस्ने २१ वर्षीय बिक्की सहनीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।
प्रहरीले क्वारेनटाइन कार्यालय रानीसँग समन्वय गरी बरामद माछा नष्ट गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय रानीबाट करिब चार किलोमिटर पश्चिमतर्फ पर्ने बताइएको छ। घटनाबारे थप आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया