उद्योग संगठन मोरङको ‘कोशी कनेक्ट’ व्यावसायिक मिसन

शुक्रबार, ०२ माघ २०८२

विराटनगर : कोशी प्रदेशको औद्योगिक विकास र क्षेत्रीय व्यवसायबीचको सहकार्य थप सुदृढ बनाउने उद्देश्यसहित उद्योग सङ्गठन मोरङले माघ २ गतेदेखि ४ गतेसम्म तीनदिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिसन सञ्चालन गर्ने भएको छ।

औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय–व्यवसायबीचको आपसी सम्बन्ध अभिवृद्धि गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने लक्ष्यका साथ यो मिसन सुरु गरिएको संगठनले जनाएको छ।

मिसनअन्तर्गत सङ्गठनको प्रतिनिधिमण्डलले उदयपुर, खोटाङ र भोजपुर जिल्लाको भ्रमण गर्दै स्थानीय उद्योग तथा व्यवसाय, लगानीका सम्भावना र आपसी सहकार्यका विषयमा अन्तरक्रिया गर्नेछ।

सङ्गठनको प्रतिनिधिमण्डलमा अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा, विपिन कावरा र सुबोध कोइराला, कोषाध्यक्ष पारस लुनियाललगायत कार्यसमिति सदस्यहरू सौरभ सारडा, वीरेन्द्र राठी, दीपक अग्रवाल, सन्तोष भगत, सिद्धार्थ कावरा, किरण व्यास, पारस गोल्छा, उकेश अग्रवाल, उद्यमी निर्मल कोचर, महिला उद्यमी प्रतिभा पौडेल निरौला, सावित्रा ढकाल, विमला थापा, मयुषा, युवा उद्यमी रोमन कट्टेल, सागरराज ढुङ्गाना तथा सङ्गठनका महानिर्देशक चूडामणि भट्टराई सहभागी छन्।

सङ्गठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार व्यावसायिक मिसनले क्षेत्रीय व्यापार सुदृढ गर्ने, स्थानीय उत्पादन प्रवर्द्धन गर्ने र साझा समृद्धिको मार्ग निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

निजी क्षेत्रको अग्रणी संस्थाका रूपमा उद्योग सङ्गठन मोरङले पहाड र तराईलाई साझा विकास यात्रामा जोड्दै व्यवसाय–व्यवसायबीच सम्बन्ध विस्तार, ज्ञान तथा विचार आदान–प्रदान र आर्थिक एजेन्डामा साझा आवाज निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।

कोशी प्रदेश सरकारले सञ्चालनमा ल्याएको ‘कोशी पर्यटन वर्ष २०८२’ अभियानलाई समर्थन गर्दै निजी क्षेत्रको नेतृत्वमा पर्यटन प्रवर्द्धन, क्षेत्रीय सम्बन्ध विस्तार र आपसी सहकार्य मजबुत बनाउन पनि मिसनले सहयोग गर्ने बताइएको छ।

‘कोशी कनेक्ट’ व्यावसायिक मिसनले अन्तरजिल्ला व्यापारिक सञ्जाल तथा साझेदारी स्थापना, लगानी र व्यापारका अवसरको प्रवर्द्धन, ‘मेरो देश मेरै उत्पादन’ अभियानमार्फत स्वदेशी उत्पादनको बजार विस्तार, बी–टु–बी प्लेटफर्ममार्फत व्यवसायलाई भर्चुअल रूपमा जोड्ने, उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा आर्थिक एजेन्डामा साझा धारणा निर्माण गर्ने लक्ष्य राखेको संगठनले जनाएको छ।

कार्यक्रमअनुसार माघ २ गते त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाट, माघ ३ गते खोटाङ उद्योग वाणिज्य सङ्घ र माघ ४ गते भोजपुर उद्योग वाणिज्य सङ्घसँग स्थानीय उद्योगी तथा व्यवसायीको सहभागितामा बी–टु–बी तथा सहकार्यका विविध आयामबारे अन्तरक्रिया हुनेछ।

व्यावसायिक मिसनले कोशी प्रदेशका निजी क्षेत्रबीच साझा विकास र व्यावसायिक साझेदारी अघि बढाउन सहयोग पुग्ने विश्वास संगठनले लिएको छ। विगत केही वर्षयता उद्योग सङ्गठन मोरङले विभिन्न सरोकारवाला निकायसँग सहकार्य गर्दै उद्यमशीलता प्रवर्द्धन तथा स्टार्टअप सहजीकरणसम्बन्धी गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार