सर्लाही : नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेसँगै सर्लाही क्षेत्र नं. ४ एक्कासि चर्चामा आएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार सम्पन्न बैठकले पार्टी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गरेसँगै सिङ्गो देशकै ध्यान सर्लाही–४ मा केन्द्रित भएको हो । भारतको सीमासँग जोडिएका अधिकांश गाउँ पर्ने यो निर्वाचन क्षेत्रलाई नेपाली कांग्रेसको पुरानो गढ मानिन्छ । यसै क्षेत्रबाट डा. अमरेशकुमार सिंह लगातार तीन पटक चुनाव जितेर संसद्मा प्रवेश गरेका थिए । उनी २०७० र ०७४ मा कांग्रेसबाटै विजयी भएका थिए ।
२०७९ मा नेपाली कांग्रेसको संस्थापन पक्षसँग कुरा नमिलेपछि सिंहले पार्टीबाट टिकट पाएनन् । त्यसबेला कांग्रेसबाट टिकट पाएका पूर्व जिल्ला सभापति नागेन्द्र कुमारलाई एक हजार ७६४ मतान्तरले पराजित गर्दै स्वतन्त्र (कांग्रेसका बागी) उम्मेदवारका रूपमा सिंह तेस्रो पटक यही क्षेत्रबाट सांसद निर्वाचित भए ।
सिंह कांग्रेसबाट उम्मेदवार रहँदा २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का राकेशकुमार मिश्रलाई एक हजार ४६४ मतान्तरले पराजित गरेका थिए । त्यसबेला सिंहले २९ हजार ६ सय मत प्राप्त गर्दा राजपाका मिश्रले २८ हजार १३६ मत प्राप्त गरेका थिए ।
अब फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट भावी प्रधानमन्त्रीका उम्मेदवार तथा पार्टी सभापति थापाले सर्लाही–४ बाट ह्याट्रिक गरिसकेका सिंहसँग प्रतिस्पर्धा गर्नुपर्ने समीकरण बनेको छ ।
२०७९ मा स्वतन्त्र रूपमा उम्मेदवारी दिएर विजयी भएका निवर्तमान प्रतिनिधि सभा सदस्य सिंह यसपटक मनोनयन दर्ताको केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी सोही पार्टीबाट उम्मेदवार बनेका छन् ।
सर्लाही–४ मा कांग्रेस सभापति थापा, रास्वपाका सिंहसहित नेकपा (एमाले) का अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीका रजनिश राय, जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादव, जनमत पार्टीका राकेशकुमार मिश्रलगायत ३९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
सर्लाही–४ का संविधान सभा सदस्य शिवपुजन राय यादवले नेपाली कम्युनिस्ट पार्टीबाट अर्कैलाई टिकट दिइएपछि मनोनयनकै दिन पार्टी परित्याग गरी छोरा अमनिश यादवलाई नेकपा एमालेबाट टिकट दिलाएर चुनावी मैदानमा उतारेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही–४ मा एक लाख २१ हजार १२ जना मतदाता छन् । यो निर्वाचन क्षेत्रका ८१ मतदान स्थलमध्ये सुरक्षाको दृष्टिले सबै अति संवेदनशील सूचीमा परेका छन् ।
कांग्रेस सभापति गगनकुमार थापा सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ आउँदै छन् । उम्मेदवारी दर्तापछि थापा पहिलो पटक निर्वाचन क्षेत्रमा आउन लागेका हुन् ।
टिकट वितरणमा व्यस्त रहेकाले उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । नेपाली कांग्रेस प्रदेश कार्यसमितिका उपसभापति तथा मधेश प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंहका अनुसार सभापति थापा सोमबार दिउँसो निर्वाचन क्षेत्रमा आएर चार दिन बस्ने कार्यक्रम छ ।
“अहिलेलाई चार दिन निर्वाचन क्षेत्रमा नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ,” सिंहले भने, “केही दिनपछि पुनः काठमाडौँबाट आएर घरदैलो अभियान गर्ने तयारी गरिएको छ ।”
प्रतिक्रिया