उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कारका लागि शिरोमणि दवाडी छनोट

आइतबार, ११ माघ २०८२

काठमाडौँ । नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार शिरोमणि दवाडीलाई प्रदान गर्ने निर्णय गरेको छ।

ललितपुरको लाकुरी भञ्ज्याङमा सम्पन्न मञ्चको विशेष बैठकले करिब तीन दशकदेखि पत्रकारितामा क्रियाशील वरिष्ठ पत्रकार दवाडीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। दवाडी हाल अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको रेडियो अन्नपूर्णका प्रमुख छन् भने उहाँ अध्यात्मिक पत्रकार समाजका अध्यक्ष समेत हुनुहुन्छ।

बैठकमा मञ्चका पदाधिकारी तथा सदस्यहरूको संयुक्त सहभागिता रहेको थियो। बैठकले मञ्चका पूर्व महासचिव राम पौडेल र सदस्य नारायण आचार्यद्वारा स्थापना गरिएका विभिन्न स्मृति पत्रकारिता पुरस्कारहरू प्रत्येक वर्ष मञ्चको वार्षिक उत्सवका अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका पत्रकारलाई प्रदान गर्ने निर्णयसमेत गरेको छ। पुरस्कार प्राप्तकर्ता मञ्चको छनोट समितिबाट छनोट गरिने व्यवस्था गरिएको छ।

नेपाल पत्रकार मञ्चको स्थापना दिवस चैत ३० गतेका अवसरमा हरेक वर्ष प्रदान गरिने यी पुरस्कारहरूको स्थापना गर्नुभएकोमा मञ्चका अध्यक्ष युवराज विद्रोहले दाता राम पौडेल र नारायण आचार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

राम पौडेलले आफ्ना स्वर्गीय पिता उमाकान्त पौडेलको स्मृतिमा स्थापना गर्नुभएको पुरस्कारको नाम उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार राखिएको छ, जसको नगद राशी रु ५,५५५ रहेको छ।

यसैगरी नारायण आचार्यले आफ्ना स्वर्गीय पिता ईन्द्रप्रसाद आचार्य र स्वर्गीय माता यानकुमारी आचार्यको स्मृतिमा स्थापना गर्नुभएको पुरस्कारको नाम ईन्द्रप्रसाद-यानकुमारी आचार्य स्मृति शैक्षिक पत्रकारिता पुरस्कार राखिएको छ, जसको नगद राशी रु ११,१११ रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार