झापामा कुष्ठरोगको डरलाग्दो अवस्था : ६ महिनामै भेटिए ५५ नयाँ बिरामी

सोमबार, १२ माघ २०८२

झापा : झापामा कुष्ठरोगको सङ्क्रमण दर घट्नुको साटो उल्टै बढ्दै गएको पाइएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामै जिल्लाभर ५५ जना नयाँ कुष्ठरोगी फेला परेपछि स्वास्थ्य क्षेत्र चिन्तित बनेको हो।

स्वास्थ्य कार्यालय झापाका अनुसार पुस मसान्तसम्म पहिचान भएका नयाँ बिरामीमध्ये एक जना बालबालिका पनि रहेका छन्।

जिल्लाका १५ पालिकामध्ये दमक नगरपालिका र कचनकवल गाउँपालिका कुष्ठरोगबाट सबैभन्दा बढी प्रभावित देखिएका छन्। यी दुई पालिकामा मात्र १२/१२ जना नयाँ बिरामी फेला परेका छन्। यस्तै, शिवसताक्षी, बाह्रदशी र बिर्तामोडमा ५/५ जना, भद्रपुरमा ४ जना, मेचीनगरमा ३ जना तथा बुद्धशान्ति, गौरादह र गौरीगञ्जमा २/२ जना नयाँ बिरामी पहिचान भएका छन्। फेला परेकामध्ये ५३ जनाले हाल नियमित औषधि सेवन गरिरहेका छन्।

पछिल्लो पाँच वर्षको तथ्याङ्कले झापामा कुष्ठरोगको सङ्क्रमण ग्राफ निरन्तर उकालो लागिरहेको देखाउँछ। आर्थिक वर्ष २०७७/७८ मा ९५ जना कुष्ठरोगी रहेकामा आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा यो सङ्ख्या बढेर १४७ पुगेको छ।

सङ्क्रमण दर पनि १.०२ प्रतिशतबाट बढेर १.४७ प्रतिशत पुग्नुले जिल्लामा कुष्ठरोग नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको सङ्केत गर्छ।

नेपालमा वार्षिक रूपमा करिब २ हजार ५ सय नयाँ कुष्ठरोगी थपिने गरेका छन्। चिकित्सकहरूका अनुसार समयमै रोग पहिचान भएमा बहु–औषधि विधिबाट ६ देखि १२ महिनाभित्र कुष्ठरोग पूर्ण रूपमा निको हुन सक्छ। तर, समाजमा अझै पनि कुष्ठरोगलाई कलङ्कका रूपमा हेर्ने प्रवृत्ति र सामाजिक अवहेलनाको डरका कारण धेरै बिरामी रोग लुकाएर बस्न बाध्य हुने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार