काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि गएराति मित्रराष्ट्र जापानतर्फ प्रस्थान गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ अधिकारी, नेपालका लागि जापानी राजदूतलगायतले राष्ट्रपति पौडेललाई बिदाई गरेका छन् ।
राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी र राष्ट्रपति कार्यालयका पदाधिकारी संलग्न छन् । राष्ट्रपति पौडेल यही माघ २१ स्वदेश फर्कने तालिका छ ।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार पौडेल जापान प्रस्थान गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका अवसरमा राष्ट्रपति पौडेल आजै नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम छ ।
माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने कार्यतालिका छ ।
भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
यसैगरी, जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनका साथै राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन् । नेपाल–जापान सम्बन्ध अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको हो । १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो सम्बन्ध औपचारिक भयो, जुन मित्रता, सद्भाव र सहयोगले चिनिन्छ ।
कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो । जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावाससमेत रहेको छ ।
प्रतिक्रिया