विराटनगर : पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप मोरङ जिल्लामा १२ हजार बढी बालिकालाई दिने तयारी गरिएको छ । त्यसका लागि जिल्लाव्यापी खोप अभियान माघ २५ गतेदेखि सुरु गरिने भएको हो ।
कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७ सय ५५ बालिकालाई लक्षित गरी ३ देखि ५ दिनसम्म खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । अभियानका लागि आवश्यक सबै तयारी पूरा भइसकेको कार्यालयले जनाएको छ ।
खोप लगाउन जिल्लाभर ८ सय २७ वटा खोप केन्द्र तोकिएको छ । बुधबार विराटनगरमा आयोजित सञ्चारकर्मी तथा सरोकारवाला अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्यसचिव योगराज घिमिरेले एचपीभी खोप दीर्घकालीन सार्वजनिक स्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार भएको बताए ।
गत वर्ष खोपबाट छुटेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई समेत यसपटक अनिवार्य रूपमा समेट्ने लक्ष्य रहेको घिमिरेले जानकारी दिए । एचपीभी अर्थात् ह्युमन प्यापिलोमा भाइरस पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण मानिने जनस्वास्थ्य अधिकृत उत्सव पोखरेलले जानकारी गराए । पोखरेलले एचपीभी खोप सुरक्षित, प्रभावकारी र वैज्ञानिक रूपमा प्रमाणित छ । ‘यौन सक्रिय हुनुअघि खोप लगाउँदा यसको प्रभावकारिता धेरै उच्च हुन्छ । यसले भविष्यमा महिलालाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम अत्यन्तै न्यून बनाउँछ,’ पोखरेलले भने ।
खोपले प्रजनन क्षमता वा दीर्घकालीन स्वास्थ्यमा नकारात्मक असर पार्छ भन्ने प्रचार निराधार भएको पनि पोखरेलको स्पष्ट पारे। नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर रोगमध्ये एक हो । हरेक वर्ष १ हजारभन्दा बढी महिलाले यसकै कारण ज्यान गुमाउने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानका लागि सम्बन्धित केन्द्रमा खोप र खोपजन्य सामग्रीको ढुवानी बिहीबारबाट सुुरु गरिने जानकारी सो अवसरमा जानकारी दिइयो ।
अघिल्लो वर्ष सहरी क्षेत्रमा सामाजिक सञ्जालमार्फत फैलिएको भ्रमका कारण खोप अभियान सञ्चालनमा निक्कै चुनौती देखिएको स्मरण गर्दै जनस्वास्थ्य अधिकृत पोखरेलले यसपटक प्रत्यक्ष संवाद र तथ्यमा आधारित सचेतनालाई प्राथमिकता दिइएको बताए । मिथ्या एवं भ्रामक सूचनाका कारण गत वर्ष ग्रामीण क्षेत्रमा भन्दा कोशी प्रदेशको राजधानी रहेको विराटनगरमा खोप कार्यक्रम सञ्चालनमा चुनौती देखिएको थियो ।
यस वर्ष खोप अभियानलाई अभियान सफल बनाउन स्थानीय तह, विद्यालय, शिक्षक, स्वास्थ्य स्वयंसेविका, अभिभावकलगायत सबै पक्षसँगको सहकार्य निर्णायक हुने सरोकारवालाहरूले जोड दिएका थिए ।
प्रतिक्रिया