फागुन २१ को निर्वाचन लक्ष्य : कोशीका १४ जिल्लामा सुरु भयो सेनाको सुरक्षा घेरा

बुधबार, २१ माघ २०८२

धरान : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली सेना परिचालन गरिएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको हो।

नेपाल सरकारको निर्देशन तथा गृह मन्त्रालयद्वारा जारी ‘एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२’ कार्यान्वयनमा आएसँगै सोमबारदेखि प्रदेशभर नेपाली सेनाका फौज परिचालित भएका छन्। सेनाका अनुसार निर्वाचन अवधिभर अन्य सुरक्षा निकायसँग समन्वय गर्दै नागरिक प्रशासनलाई सहयोग पुर्‍याउने जिम्मेवारी सेनालाई दिइएको छ।

सुरक्षा योजनाअनुसार सेनाले संवेदनशील मतदान क्षेत्र, महत्वपूर्ण पूर्वाधार तथा सार्वजनिक स्थलको सुरक्षा गर्नेछ। साथै निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने आकस्मिक तथा आपत्कालीन अवस्थाहरूमा शीघ्र प्रतिक्रिया जनाउने, मतदाताको निर्वाध आवागमन सुनिश्चित गर्ने र निर्वाचन सामग्रीको सुरक्षा गर्ने कार्यमा सेनाले सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ।

सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन निर्वाचनभन्दा करिब एक महिना अगाडिदेखि नै सबै जिल्लामा अस्थायी बेस स्थापना गरी नियमित सैनिक गस्ती तथा आवश्यकताअनुसार संयुक्त गस्ती सञ्चालन गर्ने तयारी गरिएको छ। यसले संभावित जोखिम न्यूनीकरण र चुनावी वातावरण सुरक्षित राख्न सहयोग पुग्ने सुरक्षा अधिकारीहरूको विश्वास छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा विमानस्थल, कारागार तथा अन्य रणनीतिक महत्वका संरचनाको सुरक्षा जिम्मेवारीसमेत नेपाली सेनाले सम्हाल्नेछ। सुरक्षा निकायहरूबीचको समन्वयलाई प्रभावकारी बनाउँदै निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्ने लक्ष्य राखिएको जनाइएको छ।

सुरक्षा निकायले निर्वाचन सफल बनाउन सर्वसाधारणलाई पनि सहयोग र सहकार्य गर्न आग्रह गरेका छन्। मतदाता निर्भीक रूपमा मतदान केन्द्रसम्म पुग्न सकून् भन्ने उद्देश्यका साथ कोशी प्रदेशभर सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा परिचालन गरिएको बताइएको छ।

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार