हिसान कप क्रिकेटको उपाधिका लागि नमुना कलेज र स्मल हेभन आमनेसामने

भलिबलमा छात्रतर्फ पूर्वाञ्चल, बिश्वआदर्श, पिस जोन र कस्तुरीको विजयी सुरुवात

बुधबार, २१ माघ २०८२

सुनसरी : इटहरीमा जारी हिसान कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि नमुना कलेज र इनरुवाको स्मल हेभन स्कुल भिड्ने भएका छन्। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको आयोजनामा भइरहेको प्रतियोगिताको बुधबार सम्पन्न सेमिफाइनल खेलबाट दुवै टोली फाइनलमा प्रवेश गरेका हुन्।

जनता क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा इटहरीको नमुना कलेजले सुस्मा गोदावरी कलेजलाई ४९ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८ रन बनायो। नमुनाका राजु विकले २५ बलमा ५८ रनको विस्फोटक अर्धशतकीय इनिङ खेलेर टोलीलाई बलियो योगफलतर्फ डोर्‍याए। गुञ्जन दाहालले ११ रन जोडे।

जवाफमा १ सय ९ रनको लक्ष्य पछ्याएको सुस्मा गोदावरी ६ विकेट गुमाउँदै ५९ रनमै सीमित भयो। उसका लागि अनिल बस्नेतले नटआउट २६ रन र एमडी आदिलले १६ रन जोडे। उत्कृष्ट प्रदर्शन गरेका नमुनाका राजु विक प्लेयर अफ द म्याच घोषित भए।

त्यसैगरी दोस्रो सेमिफाइनलमा इनरुवाको स्मल हेभन स्कुलले इटहरीको कोसी सेन्टजेम्स कलेजलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। स्मल हेभनले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य पछ्याएको कोसी सेन्टजेम्स १० ओभर खेल्दै सबै विकेट गुमाएर ५८ रनमा समेटियो। कोसीका मोहित विश्वकर्माले २२ रन बनाउनुबाहेक अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।

यसअघि टस जितेर ब्याटिङ गरेको स्मल हेभनले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो। रबिन मण्डलले ३५ बलमा ७६ रनको उत्कृष्ट पारी खेल्दा खालिद खानले ३४ रन जोडे। रबिन मण्डल प्लेयर अफ द म्याच बने।

नमुना कलेज र स्मल हेभन स्कुलबीचको फाइनल भिडन्त बिहीबार हुने आयोजकले जनाएको छ। हिसान सुनसरीको १२औँ स्पोर्ट्स मिट अन्तर्गत आयोजित प्रतियोगितामा सुनसरीका ८ कलेजको सहभागिता रहेको छ।

भलिबलमा छात्रतर्फ पूर्वाञ्चल, बिश्वआदर्श, पिस जोन र कस्तुरीको विजयी सुरुवात

स्पोर्ट्स मिट अन्तर्गत बुधबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा छात्रतर्फ पूर्वाञ्चल सेकेण्डरी, बिश्वआदर्श, पिस जोन र कस्तुरी कलेजले विजयी सुरुवात गरेका छन्।

इटहरी–तरहरास्थित पूर्वाञ्चल सेकेण्डरी स्कुलको भलिबल कोर्टमा भएको उद्घाटन खेलमा पूर्वाञ्चलले धरान आदर्शलाई २–० को सोझो सेटमा पराजित गर्‍यो। खेलमा पूर्वाञ्चलका निरोज निरौला प्लेयर अफ द म्याच घोषित भए।

दोस्रो खेलमा बिश्वआदर्शले इम्पेरियल कलेजलाई २–० को सोझो सेटमा पराजित गर्दा नवराज श्रेष्ठ प्लेयर अफ द म्याच बने। तेस्रो खेलमा पिस जोनले कोसी सेन्टजेम्सलाई २–० कै सोझो सेटमा हरायो। पिस जोनका अमन कुमार माझी प्लेयर अफ द म्याच घोषित भए। चौथो खेलमा कस्तुरी कलेजले प्रिमियर कलेजलाई २–० ले पराजित गर्दा भीष्म श्रेष्ठ प्लेयर अफ द म्याच बने।

छात्रातर्फ धरान आदर्श, कोसी सेन्टजेम्स, सुस्मा गोदावरी र कस्तुरी विजयी

छात्रातर्फको पहिलो खेलमा धरान आदर्शले बिश्वआदर्शलाई २–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गर्‍यो। उक्त खेलमा प्रतीक्षा जोशी प्लेयर अफ द म्याच बनिन्।

दोस्रो खेलमा कोसी सेन्टजेम्सले ज्ञान दर्पण स्कुललाई २–१ को सेटमा हराउँदा प्रितास्मा तामाङ प्लेयर अफ द म्याच भइन्। तेस्रो खेलमा सुस्मा गोदावरीले इटहरी नमुना कलेजलाई २–० को सोझो सेटमा पराजित गर्दा स्मारिका राई प्लेयर अफ द म्याच बनिन्।

चौथो खेलमा कस्तुरी कलेजले प्रिमियर कलेजलाई २–० ले पराजित गर्दा रिया शाही प्लेयर अफ द म्याच घोषित भएको प्रतियोगिता संयोजक विशाल कार्कीले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार