एमालेलाई मुलुकप्रति विशेष अभिभारा छ : ओली

विहीबार, २२ माघ २०८२

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई मुलुकप्रति विशेष अभिभारा रहेकाले त्यसलाई पूरा गर्नुपर्ने दायित्व रहेको बताएका छन्।

झापा-काठमाडौं सम्पर्क कमिटीको निर्वाचन विशेष भेटघाट कार्यक्रममा बोल्दै उनले नेकपा (एमाले) अन्य दलभन्दा पृथक रहेको दाबी गरे।

उनले भने, ‘नेकपा एमाले विशेष अभिभारा बोकेको पार्टी हो । त्यो पूरा गर्नुपर्नेछ । अरु पार्टी भन्दा यो पृथक छ । यसको काममा राष्ट्रियता, जिम्मेवारी र जवाफदेही छ । त्यसकारण यो पार्टी अरु भन्दा पृथक छ ।’

अध्यक्ष ओलीले एमाले मात्र देशभक्त वा लोकतान्त्रिक पार्टी हो भन्ने आशय नरहेको स्पष्ट पार्दै अन्य दलहरूसँग स्पष्टता र त्यसमा अडिग रहने तथा कार्यान्वयन गर्ने क्षमता कमजोर बन्दै गएको टिप्पणी गरे।

‘अरू पार्टी देशभक्त छैनन् वा लोकतान्त्रिक छैनन् भन्ने होइन, तर आजभोलि स्पष्टता, त्यसमा अड्न सक्ने क्षमता र कार्यान्वयन गर्ने शक्ति न्यून हुँदै गएको छ,’उनले भने।

उनले देशलाई पुनः सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र स्वाधीन राष्ट्रको रूपमा सुदृढ गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिए ।

साथै स्वतन्त्र राजनीतिक व्यवस्था, मौलिक सामाजिक मूल्य-मान्यता तथा गौरवपूर्ण सांस्कृतिक पहिचानलाई जोगाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

‘देशलाई फेरि पनि सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र स्वाधीन राष्ट्रको हैसियतमा कायम राखेर आत्मनिर्भर अर्थतन्त्र, स्वतन्त्र राजनीतिक आफ्नो मौलिक, सामाजिक मूल्यमान्यताहरु र हाम्रो गौरवपूर्ण संस्कृति यी चिजहरुलाई कायम राख्दै अगाडि बढ्नुपर्दछ,’ उनले भने।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार