इलाम : इलाममा बालिकाहरुलाई लक्षित गरी यही माघ २५ गते देखी २९ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने भएको छ । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने क्रममा इलाममा पनि खोप अभियान सञ्चालन हुने भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय इलामका खोप सुपरभाइजर गंगाधर पण्डितका अनुसार गएको वर्ष छुटेकाहरुलाई पनि खोप लगाइने छ । विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालनका लागि काम अगाडी बढाइएको समेत जनाइएको छ । इलामका सबै विद्यालयमा पुगेर खोप लगाइने भएको छ । जसका लागि कक्षा ६ सञ्चालन भएका ३ सय ५७ वटा सबै विद्यालयमा खोप अभियान सञ्चालन गरिने छ ।
जिल्लाका १० वटा सबै पालिकामा शिक्षा शाखासँग समन्वय गरेर खोप अभियान अगाडी बढाइने स्वास्थ्य कार्यालय प्रमुख आदित्य शाक्यले बताए । उनले पाठेघरको मुखको क्यान्सरविरुद्ध सबैभन्दा राम्रो काम नै खोप भएको भन्दै सम्वन्धित उमेरका सबैलाई अभियानमा जोडिन आग्रह गरे ।
विद्यालयमा रहेका किशोरीलाई विद्यालयमा खोप केन्द्र बनाएर ‘एचपिभी’ खोप लगाउने कार्य गएको वर्ष समेत सञ्चालन गरिएको थियो । विद्यालय बाहिर रहेका किशोरीलाई भने स्वास्थ्य संस्थामा गएर खोप लगाउने गरी तयारी भएको बताइएको छ । खोप निशुल्क रुपमा लगाइने छ ।
नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको तथ्यांकमा उल्लेख छ । पाठेघरको मुखको क्यान्सरबाट प्रतिदिन नेपालमा मात्र ४ जनाको मृत्यु हुने गरेको बताइएको छ ।
प्रतिक्रिया