धनकुटा : जातीय, सांस्कृतिक विविधता तथा साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा तेह्रथुमको ऐतिहासिक तथा पर्यटकीय स्थल चाङलुङ गुफामा छथर क्षेत्रको प्राज्ञिक विचार गोष्ठी सुरु भएको छ।
छथर साहित्य समाजको आयोजना, नेपाल प्रज्ञा प्रतिष्ठानको सामाजिक–सांस्कृतिक विभागको सहकार्य तथा छथर गाउँपालिकाको व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिएको हो।
सुदापमा रहेको गुफा परिसरमा आयोजित भेलामा पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाबाट कवि, साहित्यकार, संस्कृतिकर्मी र अनुसन्धानकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ। सहभागीहरू आ–आफ्नो जातीय तथा सांस्कृतिक भेषभूषामा उपस्थित भई पहिचान, भाषा, परम्परा र सहअस्तित्वका विषयमा धारणा राखिरहेका छन्।
कार्यक्रममा डा.कमल तिगेला खेवाहाङ लिम्बुले ‘तेह्रथुम जिल्लाको छथर क्षेत्रको जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्व’ विषयक कार्यपत्र प्रस्तुत गर्दै स्थानीय संस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।
गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित साहित्य तथा संस्कृतिका क्षेत्रमा सक्रिय विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ। छलफलका क्रममा छथर क्षेत्रको भाषा, संस्कार, मौलिक संस्कृति संरक्षण, दस्तावेजीकरण र प्रवद्र्धनका उपायबारे बहस भइरहेको छ।
प्रतिक्रिया