विराटनगरलाई हराउँदै शुदूरपश्चिम एनपीएलको फाइनलमा

मंगलबार, २३ मंसिर २०८२

विराटनगरकिंगसलाई ७७ रनले हराउँदै शुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ ।

पहिलो प्लेअफमा १५६ रनको लक्ष पछ्याएको विराटनगर ७८ रनमै रोकिँदा शुदूर एनपीएलको फाइनलमा पुगेको हो ।

विराटनगरका ओपनर फाफ डू प्लेसिसले सर्वाधिक ३६ रन बनाए । मर्चेन्ट डी लांगेले १५ रन जोडे । बसिर अहमेदको नाममा १२ रन रह्यो । विराटनगरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

विराटनगरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हर्मित सिंह, स्कट कुग्गेलिन र अभिनाश बोहराले ले दुई–दुई विकेट लिए । चार ओभरमा हर्मितले २० रनमात्र खर्चिए । स्कट कुग्गेलिनले तीन ओभरमा नौ रन खर्चिए । हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमबाट निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५५ रन बनाएको थियो । 

सुदूरपश्चिमबाट ओपनिङमा आएका विनोदले ५२ बलमा ६३ रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे । 

सेल्डन ज्याक्सनले ११ बलमा दुई चौका र एक छक्कासहित २० रन जोडे । हर्मित सिंहले १४ र इशान पाण्डेले १३ रन बनाए । १२.५ ओभरमा इशानलाई विराटनगरका नरेन भट्टले ‘लङ अन’ मा उत्कृष्ट क्याच गर्दै पभेलियन पठाएका थिए । साम हेजलेटको बलिङमा नरेनले इशानको प्रहारलाई एक हातले बाउन्ड्री बाहिरबाट हावामा समात्दै पुनः बाउन्ड्रीभित्रबाट क्याच लिएका थिए ।

आरिफ सेखले १३ बलमा दुई चौका र एक छक्कासहित २० रन थपे ।

कप्तान दीपेन्द्रसिंह ऐरीले भने तीन रनमात्र बनाउन सके । बसिर अहमेदले गरेको १३.३ ओभरमा ऐरीलाई मर्चेन्ट डी लांगे र विकेटकिपर लोकेश बमले रनआउट गरेका थिए ।

विराटनगरका मर्चेन्ट डी लांगे र प्रतिश जिसीले दुई–दुई विकेट लिए । सूर्य तामाङ र साम हेजलेटले समान एक विकेट लिए ।

आजको खेलमा जित निकालेसँगै सुदूरपश्चिम सोझै फाइनलमा प्रवेश गरेको छ । पराजित विराटनगरले भने बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्ने तालिका छ ।

 

यो पनि : एनपीएलः फाइनल पुग्न शुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार