विराटनगर : भन्सार छलीको कपडा भारतबाट नेपाल भित्र्याइएको आशंकामा प्रहरीले विराटनगरबाट दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।
लत्ताकपडा लोड गरिएका ती ट्रक आइतबार साँझ विराटनगर महानगरपालिका वडा नम्बर १४ नेपाल टेलिकम कार्यालय अगाडिबाट नियन्त्रणमा लिइएका हुन् ।
मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले प्र ३–०१–००५ ख ९४२५ र प्र ३–०१–००६ ख १३०८ नम्बरका ट्रक भारतबाट नेपाल प्रवेश गरेका ट्रकमा बिल बीजकभन्दा बढी परिमाणमा कपडा रहेको र भन्सार मूल्यांकन कम गरिएको विशेष सूचनाको आधारमा प्रहरीले दुवै ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको जनाएका हुन । ९४२५ नम्बरको ट्रक सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा ९ का ४९ वर्षीय ऋषिराम पौडेल र अर्को ट्रकका चालक रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १० का ३७ वर्षीय कुमार बुढाथोकीलाई समेत नियन्त्रणमा लिएको समेत प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा भन्सार मूल्यांकन कम गरेर ठूलो परिमाणमा राजस्व चुहावट गरिएको आशंका पुष्टि हुने संकेत भेटिएको पनि जनाइएको छ । ट्रकमा लोड गरिएको लत्ताकपडाको अन्दाजी मूल्य १ करोड ८१ लाख २६ हजार ८७ रुपैयाँ बराबर रहेको प्रहरीले अनुमान गरेको छ ।
नियन्त्रणमा लिइएका दुवै ट्रक तथा चालकलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी गराएको छ।
प्रतिक्रिया