निष्ठुरी मायालुलाई अन्तिम प्रेमपत्र

मंगलबार, १९ असार २०८०
रिकेश निरौला निष्ठुरीले छाडेर गइहाली हेर्दा हेर्दै अर्काकी भइहाली माया मारेर हो एक्लो पारेर... प्रिय निष्ठुरी सानु, अन्तिम पटक यो पत्रका साथ सुमधुर सम्झना । नचाहँदा नचाहँदै पनि प्रिय सानु यो पत्र कोर्न बाध्य भएको छु तर यो पत्र हाम्रो जीवनको अन्तिम प्रेम पत्र रहने छ । खै हाम्रो प्रेम कहानीको सुरुवात पनि कहाँबाट गरौं, सुरुवात गर्ने शब्द नै छैन, प्रिय सानु तिम्रो सम्बोधनमा कति मिठास छ, कति आदर सत्कार छ, कति त्याग छ, कति समर्पण छ, कति मेहनत छ । सायद मैले ती शब्दहरु आज व्याख्या गर्न कदापि सक्दिन ।जहाँ प्रत्येक शब्द शब्दहरु प्रेमिल भावहरु बनेर गलामा अड्किन्छन्, यो छाति चिरिन्छ, मुटु भक्कानिन्छ, अनायासै समुन्द्रको भेलसरी आँखाबाट अविरल आँशुका धाराहरु बग्न थाल्दछन् अनि सम्बोधन गर्ने कुनै शब्द नै पाउँदिन। पुनः एकोहोरो तिम्रो यादमा हराइरहन्छु तब स्वचालित यन्त्रझैं धारावाहिक रुपमा तिम्रो लागि केही न केही नलेखी बस्नै सक्दिनँ । पागलसरि एकोहोरो माया गरिरहेँ तिमीलाई, सायद तिम्रो मायामा म पागल नै भएको थिएँ । त्यसैले भुलेँछु– एकतर्फी प्रेम कहिल्यै सफल हुन्न भन्थे मायामा धोका खानेहरुले । तिमीले मलाई माया गरेको रहेनछौँ, दुनियाको अगाडि माया गरेजस्तो नाटक मात्र गरेको रहेछौं, समय बिताउन र रमाइलो गर्नको लागि। सानु, जब तिम्रो याद आउँछ तब तिमीले पठाएका म्यासेजहरु नपढी रहन सक्दिन । जसबाट मेरो शरीरमा एक किसिमको ऊर्जा प्रवाह हुन्छ । भावनामा बगेर तिमीले मलाई लेखेको र मैले तिमीलाई लेखेका म्यासेज जतिजति पढ्दै जान्छु त्यति नै म भावुक बन्दै जान्छु । जति पढे पनि पढिरहन रहन मन लाग्छ। त्यति सजिलो पनि कहाँ छ निष्ठुरी कसैलाई चटकै बिर्सिएर अरुसँग माया लगाउन, जब कसैले छोडेर जान्छ नि तब ऊसँगै सबै माया र विश्वास हराएर जान्छ । सानु, अझै म दोधारमा छु । खै कहाँबाट सुरु गरौं त्यो हाम्रो मायाको अजम्बरी कथा । आखिर जति नै गहिरो माया गरे पनि, देवी देवता भाकी कसम खाए पनि हाम्रो माया यो जुनीमा असफल नै भयो । सात जुनीसम्म सँगै बाँच्ने सँगै मर्ने कसमको त कुरै नगरौं होला यहाँ । तिमीले मलाई छोडी जाने नै थियौ भने किन त्यो झुटो मायाको जालमा फसायौ ? आखिर तिम्रो नियत नै मसँग केही समय बिताएपछि छोडिजाने नै थियो भने, यो कुरा मलाई सुरुमै किन भनेनौं ? के तिमीले मेरो लागि सुख दुःखमा सात जन्मसम्म साथ दिन्छु भनेर मन्दिरमा देवतालाई समेत साक्षी राखेर खाएका बाचा कसमहरु सबै झूटो मायाको कहानी थियो ? तिमीले मलाई त धोका दियौ, मन्दिरमा देवतालाई साक्षी राखेर खाएको कसम थियो, देवताको मर्यादा त राख्नु पथ्र्यो मेरो नराखे पनि । तिम्रो जीवनमा मजस्तो धेरै आए र धेरै गए होला तर मेरो जीवनमा तिमी नै पहिलो र अन्तिम माया बन्यौ । सानु, आज मलाई कति गाह्रो भइरहेको छ, त्यो तिमीसँग बिताएका पलहरु र तिमीलाई भूल्न, त्यो त केवल मलाई मात्र थाहा छ । तिमी कसैको रंगीन संसारमा रमाउन थालिसकेकी छौ होला तर मेरो जीवन पानी बिनाको माछाजस्तै भएको छ । जुन दिनदेखि मेरो नजरमा तिमी पर्यौ नि, त्यही दिनदेखि मलाई आफ्नो सारा संसार तिमी नै हो जस्तो लाग्न थालिसकेको थियो। जब तिमीले पनि माया गरेजस्तो गरेर भेट्न बोलाउन थाल्यौ त्यो बेला यो संसारमा म जस्तै शौभाग्यशाली व्यक्ति कोही छैन जस्तो लागेको थियो । मेरो हरेक दिनको पहीलो म्यासेज तिमीलाई नै जान्थ्यो र अन्मित म्यासेज पनि तिमीलाई । तिमीबाहेक म अरू कसैलाई आफ्नो जीवनमा कल्पना मात्र समेत गर्न सक्दिन थिएँ । सानु, तिमीले गुड मर्निङको म्यासेज नपठाएसम्म मलाई बिहान भएजस्तो पनि लाग्दैन थियो भने रातमा तिमीले गुडनाइट नभनेसम्म मेरा यी नयनहरुमा एकरति निन्द्रा पर्दैन थियो । तिम्रो फोन आउँदा म झन् कति खुसी हुन्थेँ साने, त्यो क्षण आज यो विछोडको बेलामा म सम्झन समेत सक्दिन । तिमीले हरेक सानो सानो कुराहरू समेत मलाई सोधेर, मेरो सल्लाह लिएर मात्र गर्ने गर्थ्यौ तर आज मलाई जीवन भरको लागि छोडेर जाने यत्रो ठूलो निर्णय मलाई नै नसोधी कसरी गर्न सक्यौ माया ? आखिर तिमी मलाई नसोधी यति ठूलो निर्णय गर्न सक्ने रैछौ, अनि मलाई त्योबेला माया गरे जस्तो गरेर किन अल्मल्यायौ ? त्यसलाई अब म कुन आधारमा माया गरेको भन्न सक्छु ? तिमीले बुनेको एउटा झूटो मायाजाल, जसमा म फसेँ मात्र भन्न सक्छु । तिमी निष्ठुरी, स्वार्थी र धोकेबाज मायालु रहेछौ। मेरो त माया बसिहाल्यो तर तिमी जस्तो मान्छेसँग कसैको पनि माया नबसोस् भन्ने विन्ति गर्छु भगवानसँग । आध्यात्मिक र धार्मिक ग्रन्थहरुमा लेखिएको छ, भगवान शिवले जोगीको भेष धारण गरेर पार्वतीलाई छल गरेका थिए तर यहाँ मेरो जिन्दगीमा त पार्वतीले शिवलाइ यो छल गरिन् । हुन त यसमा कुनै आश्चर्य मान्नु पर्दैन किनकी यो कलियुग हो । कलियुगमा हरेक कुरा उल्टो चल्छ भनेर धार्मिक ग्रन्थहरुमा समेत लेखिएको छ, यहाँ युवकलाई युवती बनाइँदै छ । साचोलाई झूटो, सत्यलाई असत्य, पवित्रलाई अपवित्र, चोरलाई सज्जन, सज्जनलाई चोर बनाइँदै छ । यो वर्तमान कलियुगको विकासित रूप हो। आज आएर किन तिमीलाई म भन्दैछु आखिर यी सबै कुराहरू, यो मेरो मायाको प्रेम कहानीले मलाई अझै धोका दिँदैछ। यस्तै रहेछ जिन्दगी आखिर तिमी र म खोलाको दुई किनारा, एकले अर्कोलाई हेर्दै माया जगाउँदै बस्ने तर संगम नभएको । ठिकै छ साने, अब तिमीलाई म मेरो जिन्दगीबाट सकेसम्म निकाल्ने प्रयत्न गर्दै छु । तिम्रो जिन्दगीमा त म कहिल्यै थिइनँ होला । असह्य बेदना लिइ आज यो तिमीलाई अन्तिम प्रेमपत्र लेख्दै छु, सायद यो सबै मेरो गल्ती र भ्रम भए पनि, म स्वीकार गर्न तयार छु । अब तिम्रा त्यो झूटो मायामा, म मेरो जिन्दगी बाँच्न चाहन्नँ, त्यसैले म आजकै मितिबाट तिमीबाट टाढा जाँदैछु, तिमीसँग कहिल्यै नभेट्ने गरी । मेरो प्रेम आज मेरै लागि बिष साबित भयो । म तिमीले गरेको विश्वासघातलाई अमृत ठानी सिरोधार्य गर्दै मृत्यु शैय्यामा पुग्दा समेत जपिरहने गर्छु होला तर सकेसम्म बिर्सिने प्रयत्न गर्छु। साने, तिमीलाई थाहा छैन होला यो हाम्रो छोटो प्रेममा तिमीले पठाएको म्यासेज, अनि युगलरुपी फोटो र तीन–चार पाना लामो प्रेमपत्र मैले आफ्नो मुटुमा सजाएर राखेको थिएँ तर आज त्यो झिकेर फाल्नु पर्दा धेरै पीडा भइरहेको छ। (नोट–यो कथा कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ।)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार