कृष्ण हुमागाईँ
जबसम्म शिक्षा र स्वास्थ्यमा सम्पूर्ण दायित्व राज्यको हुँदैन, तबसम्म देशमा भ्रष्टाचारको बेथिति रोकिनेवाला छैन । शिक्षा र स्वास्थ्यसँगै रोजगारीमा पनि राज्यको उत्तिकै दायित्व हुनुपर्छ । सरकारी सेवाबाहेक उद्योग कल–कारखाना निजी क्षेत्रलाई सञ्चालन गर्न दिएको एउटा खुल्ला अर्थतन्त्र भएको मुलुकले सबैको रोजगारीको दायित्व लिन त नसक्ला नै । तर नीतिगत सुधार गरेर, रोजगारमैत्री ऐन, कानूनहरु निर्माण गरेर रोजगारी सिर्जना गर्ने बातावरण बनाउनु परम् कर्तब्य अनि राज्यको दायित्व हो ।
धनीले पढ्ने एउटा शिक्षा र गरिबका लागि अर्को स्कूल, अर्कै शिक्षा रहेसम्म न देशमा बीपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवाद स्थापना हुनसक्छ न त लोकतन्त्रको संस्थागत विकास नै ।
अरुको भन्दा आफ्ना छोराछोरी अब्बल बनुन्, राम्रो शिक्षा हासिल गरुन्, निरोगी र स्वस्थ रहुन्, सुयोग्य नागरिक बनेर देशको सेवा गरुन् भन्ने भावना जाग्नु प्रतिपस्र्धात्मक बहुदलीय ब्यवस्था भएको लोकतान्त्रिक मुलुकमा स्वभाविक रुपमा लिनुपर्दछ । तर यो प्रतिस्पर्धाका लागि सक्दै नसक्नेले हात उठाउँछन् र आफ्ना सन्तानलाई अरबको मरुभूमिमा ५० डिग्री तापक्रममा सस्तोमा श्रम बेच्न बिवश बनाउँछन् भने अरुले पनि धनी पूँजीपतिसँग प्रतिस्पर्धा गर्न दाहिने–बायाँ गरेर आर्जन गर्न थाल्छन् ।
एउटा जागिरे कर्मचारी राजनीतिमा लागेकाहरुले घर खर्च धान्न, थेग्न, नसकेपछि आफ्ना छोराछोरीको शिक्षा, परिवारका सदस्यहरुको स्वास्थ्योपचारको प्रबन्ध मिलाउन नसक्दा अतिरिक्त कमाईका लागि भ्रष्टाचार गर्नु परेको धेरैले बयान दिइसकेका छन् । देखासिकी, होडबाजी, तडक–भडक, अनावश्यक प्रतिस्पर्धा र सान शौकातले गर्दा मानिस गलत बाटोमा लाग्न बाध्य हुँदै गएको छ ।
यो देशमा सबैका छोराछोरीले बिषयगत उच्च गुणस्तरको समान शिक्षा पाउने, राम्रो ओखतीमुलो पाउने, दुई छाक पोषिलो र स्वस्थवर्धक खानेकुरा पाउने सहज वातावरण बन्ने हो भने भ्रष्टाचारी बनेर बदनाम कमाउन जोखिम मोल्नेहरुको संख्या ह्वात्तै घट्नेछ ।
जसरी पनि कमाउनुछ, छोरा–छारेीको स्तरीय शिक्षा, बिहेदान, कर्म गर्नुृछ । सामान्य कमाइले पुग्दैन । भन्सार, मालपोत, अध्यागमन, नापी, भूमीसुधार, प्रशासन आदिकार्यालयमा काम गर्ने सहयोगी कर्मचारी र हुलाकमा काम गर्ने अधिकृतमध्ये सहयोगी कर्मचारीको आकर्षक कमाइ हुने र उसको जीवनस्तरमा रातारात परिवर्तन आउने भएपछि अन्यले पनि त्यो अतिरिक्त आम्दानीको बाटो रोज्ने नै भए ।
मालदार मन्त्रालय पाउन, त्यहाँ जान जसरी मन्त्रीहरुको मरिहत्ते गर्छन, कर्मचारी पनि त्यस्तै ठाउँमा सरुवा हुन रुचाउँछन् । उपल्लो कर्मचारी र मन्त्री, मन्त्राणीलाई सगुन भेटी बक्सेर सरुवा भएका कर्मचारीले भेटी बुझाएको खर्च उठाउनै प¥यो, त्यही बहानामा गोजी भर्नै प¥यो । तँ धेर कमाउने कि म ? भन्ने होडबाजीमा सबै भ्रष्टाचारको जालोमा जेलिए । त्यसैले सबैले स्तरीय शिक्षा, स्वास्थ्य पाउने वातावरण नबनेसम्म यो भ्रष्टाचारको महारोगबाट राष्ट्रले मुक्ति पाउँदैन ।
बाध्यता कि रहर ?
आचरण भ्रष्ट हुनु– भ्रष्टाचारलाई बाध्यता त कसरी भन्नु ? तर एउटा सहयोगी कर्मचारीको मासिक कमाइभन्दा धेरै कम्ती आठौं–दशौं तहका कर्मचारीको कमाइ भएपछि हिनताबोध हुनु, उसको भन्दा सानो घर हुनु, कमसल र सरुतो स्कूलमा केटाकेटी पढाउनु पर्दाको पीडा र अपमानबोधले कर्मचारीलाई भ्रष्टाचारको दलदलमा फस्न बिवश बनाउँदछ । कतिलाई त अकुत कमाएर समाजमा शान र मान बढाउने रहरले भ्रष्टाचारी बनाएको छ भने कतिलाई मातापिताको औषधोपचार र केटाकेटीको शिक्षा–दीक्षाकै लागि गतिछाड्नु परेको अवस्था पनि होला ।
स्रोतमा पहुँच हुनेले भ्रष्टाचार गरे होलान् । पहुँच नहुनेले चोरी–तस्करी, दुई नम्बरी आदि इत्यादि गरेका हुनन् । समाज पनि बिचित्रको छ, हुलाकमा काम गर्ने अधिकृतभन्दा भन्सारको सहयोगी कर्मचारीलाई छोरी दिन राजी हुने समाजको चरित्र रहेसम्म भ्रष्टाचार रोकिन्न, झन् मौलाउँछ ।
जतिसुकै भ्रष्ट किन नहोस, बिहे–बटुलो, पूजा–पार्टी, सभा–समारोहमा महंङ्गा गहना–घडी, रतनजडित बस्त्रादिहरुको पहिरनमा सजिएकाहरुलाई मात्र इज्जत, मान–सम्मान, मर्यादा दिने आम प्रचलन नहटेसम्म समाजमा संस्कार–कुसंस्कारका रुपमा रहेको भ्रष्टाचारको जालो तोड्न सजिलो छैन । जसको ठूलो घर, चिल्लो गाडी, महङ्गा बस्त्र, फजुल खर्च गर्नसक्ने औकात छ समाजमा उही बरिष्ठ !?!
देश र जनतालाई लुटेर–ठगेर कमाएको हरामको कमाईको केही हिस्सा निहित स्वार्थ राखेर सामाजिक काममा खर्च ग¥यो भने उस्लाई बरिष्ठ समाजसेवीको पगरी गुथाउन समाजमा तँछाड–मछाड हुने गरेको छ । त्यही भ्रष्टाचारबाट आर्जन गरेको रकम कनिका छर्नेलाई सञ्चार माध्यमदेखि राजनैतिक दल र समाजका सबै तप्काले सबभन्दा उच्च स्थानमा राखिदिएपछि त ऊ देश बिकासको मोड र भ्रष्टाचाररहित समाजको बिषयमा प्रवचन नै दिन थालिहाल्छ ।
भ्रष्ट आचरण- भ्रष्टाचार यसलाई बाध्यता भनेर बेथिति र बिकृतिलाई समर्थन गर्न त सकिन्न । तर, किन गर्छ त मान्छेले बारम्बार भ्रष्टाचार ? प्रश्न गम्भीर छ । गरिब मुलुक जहाँ राज्य प्रशासनमा पहुँच भएकाहरुको प्रतिस्पर्धा धनाढ्यहरुसँग हुन्छ । त्यो “इलिट” बर्गसँग संगत भएपछि, उसैको सिको गर्न थालेपछि मिलेर भ्रष्टाचार गर्न थाल्छन् । इलिटसँगै खर्च गर्नसक्ने आर्थिक हैसियत बनाउन स्रोतमाथि पहुँच हुनेले नै गर्छन् भ्रष्टाचार । गरिब, दुःखीले त भ्रष्टाचारबाट राज्यको स्रोत दोहन भएपछि असुविधा मात्र पाउने हुन् ।
भ्रष्टाचार बाध्यता भए ती गरिब जनता अनेकौं पीडा खपेर पनि जीवन धानिरहेका छन् । अनि यी पहुँचवलालाई किन प¥यो बाध्यता । धेरै कमाउने, अकुत कमाउने र सन्तान–दरसन्तानका लागि अथाहा सम्पत्ति जोडिदिने लालसाले भ्रष्टाचारको जरा गाडेको हो । त्यसैले भ्रष्टाचार बाध्यता होइन गति–मति छाडेरै भएपनि धन कमाउने रहर हो ।
कसरी कम हुनसक्छ भ्रष्टाचार ?
जबसम्म समाजमा भ्रष्टलाई धन सम्पत्तिका आधारमा मान सम्मान गर्ने प्रचलन रहिरहन्छ, तबसम्म भ्रष्टाचार मौलाइरहन्छ । कुनै भ्रष्टाचारीले पनि मैले भ्रष्टाचार गरेरै अकुत सम्पत्ति कमाएको भन्दैन । अनि कसरी भ्रष्टाचारी भन्नु ? प्रश्न सजिलै उठ्छ । तर खासै पैतृक सम्पत्ति नभएका, कुनै वैध ब्यवसाय पनि नगरेका कर्मचारी, नेता वा राजनैतिक कार्यकर्ता वा बिचौलिया दलाल नै भनौं । एकै पटक अकुत सम्पत्ति आर्जन गरेको र समाजमा शान सौकात, औकात बढेको देखिन्छ भने कहाँबाट आयो यत्रो सम्पत्ति ? यसको बैधानिक आर्जन स्रोत के हो ? प्रश्न उठनुपर्छ । सोधिखोजी हुनुपर्छ । राज्यका निकाय अख्तियार, सम्पत्ति शुद्धीकरण लगायतका निकायहरुले पनि यसतर्फ ध्यन दिनु जरुरी छ ।
दुई नम्बरी गरेर, देश र जनतालाई ठगेर, राज्य दोहन गरेर गलत तरिकाले सम्पत्ति आर्जन गरेका भ्रष्टाचारीलाई समाजमा, राजनीतिमा, संघ–संस्थामा कहीँ पनि स्थान नदिने, मञ्चासन नगराउने, सार्वजनिक र पारिवारिक कार्यक्रमहरुमा नबोलाउने, वास्ता नगर्ने, समग्रमा बहिस्कार नै गर्ने हो भने भ्रष्टाचारीको मनोबल कमजोर हुँदै जान्छ । र अरु भ्रष्टहरुले पनि सामाजिक दण्डको सामना गर्नुपर्ने चुनौतीका कारण भ्रष्टाचारका घटना र भ्रष्टाचारीहरुमा कमी आउनसक्छ ।
भ्रष्टाचारीलाई महत्व दिनेभन्दा श्रमजीवी वर्गलाई संघ–संस्थाहरुका कार्यक्रमहरुमा सम्मान, अभिनन्दन गर्ने, त्यस्तो कार्यक्रममा हामीले कोही भ्रष्टाचारीलाई कार्यक्रममा निम्ता गरेका छैनौं र गर्दैनौं पनि भनेर सार्वजनिक उद्घोषण गर्ने, गराउने । अनि हामी भ्रष्टाचारीसँग सम्बन्ध गाँस्दैनौं र संगत पनि गर्दैनौं भन्ने अभियानलाई सबै राजनैतिक दल, संघ–संस्था, कार्यालय, निकायहरुमा बिस्तार गर्ने ।
भ्रष्टाचारमा मुछिएका, गन्हाएका वा शंकास्पद ठानिएका ब्यक्तिहरुका सार्वजनिक वा कुनैपनि कार्यक्रमहरुलाई बहिष्कार गर्ने । अनुपस्थित हुने, अरुलाई पनि त्यस्ता देशघाती, राष्ट्रद्रोहीकोमा नजाऔं भनेर लविङ्ग गर्ने । भ्रष्टाचारको कमाईबाट अनुचित आर्जन गरेका मानिसले दिएको दान, चन्दा, पुरस्कार आदिलाई बहिष्कार गर्ने, त्यस्तो रकम नलिने सार्वजनिक घोषणा अभियान चलाउने ।
कतै जानु परे त्यस्ता भ्रष्टाचारी सँगसँगै नजाने, भरसक त्यस्तासँग नबोल्ने, आफै बोल्न आएमा म ब्यस्त छु भनेर पन्सिने, तर्किने, कि उसले बुझोस् मसँग समाजका कोहीपनि बोल्न, हिँड्न, संगत गर्न मन पराउँदैनन् भन्ने कुरा । एउटा भ्रष्टाचारीलाई यस्तो प्रकारको सामाजिक दवावमा राख्न सकिएको खण्डमा अर्को भ्रष्टाचारी पनि सतर्क रहन्छ । कि, त तिनीहरुले अवैध रुपमा अर्जन गरेको सम्पत्ति राज्यकोषमा दाखिला गर्छन्, कि देश छोडेर पलायन हुन्छन् । नत्र कसरी हुनसक्छ त भ्रष्टाचारमा कमी ?
उपभोक्तावादी भौतिकवाद भ्रष्टाचारको कारक
मानिसमा पाप–धर्मको ख्याल रहेन भने, धर्म–अधर्मको बोध र मर्म रहेन भने त्यस्तो मानिसले जे पन गर्छ । उसलाई न यस लोकसँग, न परलोकसँग डर रहन्छ । कसैसँग केही डर, लाज, घिन, सरम् नभएपछि ऊ भौतिक सुखाका आतिर अति भौतिकवादी, उपभोक्तावादको भूँमरीमा फस्न पुग्दछ ।
जति गर्छौ यहीँ गर, मरेपछि स्वर्ग पनि छैन, नर्क पनि छैन । भन्ने द्वन्द्वात्मक भौतिकवादको ब्याख्यान छाँटेर हिड्नेहरुले गरेको अकल्पनीय भ्रष्टाचारको नालीबेली हेर्दा भोतिकवादीहरु भmन् भ्रष्टाचारी देखिए नेपालमा । उनीहरुलाई न स्वर्गको डर, न नर्कको नै ।
जति कमायो, लुट्यो यहीँ मोजमस्ती ग¥यो । यही छ, सब । जोसँग धन–सम्पत्ति छ, उस्लाई यही स्वर्ग छ । अनि जो बिपन्न छ, उ यहीँ नर्कमा छ । स्वर्गीय सुखानुभूतिका लागि जसरी पनि जति पनि धन–सम्पत्ति कमाऊ भन्ने होडबाजीले भ्रष्टाचार मौलायो ।
हुन त भौतिकवादीहरु भ्रष्टाचारी, आध्यत्मवादी चाहिँ सबै सादगी भन्ने पनि हुँदैन । मन्दिरमा बसेको पुजारीले नै भगवानको मूर्ति चोरेको, देउताको गर–गहना चोरेको घटनाहरु अनगिन्ती छन् । समग्रमा साँच्चिकै निष्ठावान आध्यात्मिक मानिसमा लोक–परलोकको चिन्ता हुन्छ । उसले मरेपछिको स्वर्गको बाटो नछेकियोस् भनेर पनि आफूलाई आत्म अनुशासनमा राख्छ, राख्नुपर्ने हुन्छ, राखेको हुन्छ ।
ढोगी–पाखण्डीहरुको कुरा त फरक हो । भौतिकवाद विज्ञानसम्मत हो । तर, कतिपय संस्कार, संस्कृति, परम्परा, रितीरिवाज, चाल–चलनहरु बिज्ञानसम्मत भएपनि, नभएपनि अनौठा हुन्छन् र ती जनताको जीवनशैलीसँग अनुवन्धित पनि हुन्छन् । भौतिकवादका नाममा संस्कार र संस्कृतिलाई चटक्कै छोड्न पनि सकिन्न । यस बिषयमा अलग्गै बहस गर्न सकिन्छ । यहाँ भन्न खोजिएको के हो भने–विज्ञानसँग मेल खाएपनि, नखाएपनि आध्यत्मवादले मानिसलाई यो गर्नु हुने र यो गर्नु नहुने भनेर आचरण शिक्षा दिएको हुन्छ । भलै त्यो अन्धविश्वासको जगमा टिकेको नै किन नहोस् ।
भौतिक सुख, सुविधा मात्र जीवन हो, यहाँ जे छ, त्यो नै अन्तिम सत्य हो, स्वर्ग–नर्क केही छैन, सब भ्रम मात्र भन्ने प्रचार र बुझाईले लोक–परलोकको बाटो अवरोध नहुने, जे गर्नुछ, यहीँ गरे हुन्छ भन्ने संदेश दिन्छ र मानिस अति सुविधाभोगी बन्नतर्फ लालची बन्छ । हो, त्यही लालचले भ्रष्टाचारको भ्रुण तयार गर्छ । नाता–सम्बन्ध, परिवार,संस्कार, संस्कृति, परम्पराहरु पनि हुँदा हुन् ।
भौतिकवादको अहंकारले के यो सब तोडिदिने अब ? संस्कार र परम्पराहरु संसारभर एकै प्रकृतिको हुँदैन । विचार पनि सबै मानिसको एकै प्रकारको हुदैन । बहुलवादी समाजमा त बैचारिक भिन्नता नै अनेकताबीचको एकताको सूत्र पनि बनेको हुन्छ । तसर्थ नैतिक शिक्षा आजको आवश्यकता हो । नैतिक शिक्षाले आचरणमा शुद्धीकरण ल्याउँछ । शुद्ध आचरणले गर्न हुने र नहुने कुरामा सचेतना जगाउँदछ र व्यक्तिलाई, समाजलाई भ्रष्टाचारबाट जोगाउँछ । तसर्थ उपभोक्तवादी भौतिकवाद भन्दा अन्धबिश्वासी नै भएपनि आध्यात्मवादले मानिसलाई भ्रष्ट कर्म गर्नबाट रोक्न, अलग राख्न, मद्दत गर्दछ ।
प्रतिक्रिया