सरकारी बिद्यालयका शिक्षकलाई राजनिती नगर्न इटहरी प्रमुखको निर्देशन

आइतबार, ०७ साउन २०८०
इटहरी । इटहरी उपमहानगरपालिकाले चालु शैक्षिक वर्षमा शिक्षा क्षेत्र सुधारका लागि सक्रियता देखाएको छ । स्थानीय शिक्षा ऐन, २०८० लागू गर्दै उपमहानगरका मेयर हेमकर्ण पौडेल शिक्षा सुधार अभियानमा सक्रिय भएका हुन् । इटहरीका ३७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई शनिबार बोलाएर राजनीति नगर्न मेयर पौडेलले निर्देशन दिएका थिए । मेयर पौडेलले राजनीतिक दलहरूमा आबद्ध शिक्षकहरूलाई दलको सक्रिय राजनीति गर्ने भए पढाउन छोड्न चेतावनी समेत दिए । ‘शिक्षामा राजनीति नहुने हो भने सामुदायिक विद्यालयहरू अझै पनि राम्रो बनाउन सकिन्छ,’ मेयर पौडेलले भने । मेयर पौडेलले शिक्षकहरु समयमा विद्यालय नजाने र समय अवधिभर नपढाउने गुनासो बढेको भन्दै समयमा विद्यालय नजानेलाई कारवाही गरिने बताए । पोशाक नलगाई विद्यालय आउनेहरुको पोशाक भत्ता समेत कटौती गर्ने मेयर पौडेलको भनाई थियो । आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको भेला राखेर विद्यालय सुधारमा लाग्न उनले निर्देशन दिए । व्यवस्थापन समितिका सबै अध्यक्षहरुलाई मेयर पौडेलले विद्यालय सुधार्न सक्रिय रुपमा लाग्न आग्रह गरे । उपमहानगरले भौतिक संरचनासँगै आवश्यक बजेट विनियोजन गर्न उपमहानगरपालिका तयार रहेको तर शिक्षामा व्यापक सुधार हुनुपर्नेमा उनको जोड थियो । जनता माध्यामिक विद्यालय इटहरीका व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले पाँच वर्षअघिसम्म स्थानीय सरकारको बेवस्तामा रहेको विद्यालयलाई अहिले चासोको साथ हेरेको भन्दै खुसी ब्यक्त गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार