विधेयक नसच्याए साउन २८ देखि निजी विद्यालय बन्द गर्ने चेतावनी

विहीबार, २५ साउन २०८०
इटहरी । सरकारले ल्याउन लागेको भनिएको शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्ट बनेका निजी विद्यालय सञ्चालकहरु केही दिनयता आन्दोलनमा छन् । उनीहरुले उक्त विधेयकका केही प्रावधान सच्याउनुपर्ने माग गर्दैै आएका छन् । यही क्रममा सुनसरीका निजी विद्यालय सञ्चालकहरूले साउन २८ गतेदेखि सरकारलाई दबाव दिन पठनपाठन बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन, नेसनल प्याब्सन र हिसान सुनसरीले इटहरीमा बिहीबार पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेका हुन् । आफूहरुको मागप्रति बेवास्ता भएइ केन्द्रीय कार्यक्रमअनुसार विद्यालय बन्द गरेर चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका छन् । विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय ५ वर्षभित्र गैरनाफामूलक शैक्षिक गुठीमा जानुपर्ने प्रावधान राखिएको र यो प्रावधान निजी विद्यालयविरोधी भएको हिसान सुनसरी अध्यक्ष सागर भटराईको भनाइ छ । मन्त्रिपरिषद्ले गत साता पारित गरेर संसदमा दर्ता प्रक्रियामा रहेको विधेयकमा हाल सञ्चालनमा रहेका निजी विद्यालय ५ वर्षभित्र निजी वा सार्वजनिक गुठी रूपान्तरण हुनुपर्ने व्यवस्था गरिएको छ । विधेयकमा नयाँ निजी लगानीका विद्यालयहरु पनि सेवामूलक उद्देश्यले शैक्षिक गुठीबाट मात्रै स्थापना गर्न पाइने उल्लेख छ । प्याब्सन कोशी प्रदेश समितिका उपाध्यक्ष सुमित थापाले विधेयकका ती प्रावधान सच्याउनुपर्ने माग आफूहरुको रहेको बताएका छन् । यसैगरी हिसानका केन्द्रीय सदस्य मुकुन्द घिमिरेले विधेयकको व्यवस्था परिवर्तन नभए अनिश्चितकालीन विद्यालय बन्द गर्नुपर्ने अवस्था आउने चेतावनी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार