धरानले अतिवाद चाहेको छैन, असल अभिभावक खोजेको छ

आइतबार, १० भदौ २०८०
युवराज गौतम धरान शान्त र सौम्यको पर्याय हो । करिब पाँचसय बर्ष पहिले विजयपुरबाट उठेको धरानको आफ्नै कथा व्यथा छन् । कुनै समय काठमाडौं गुल्जार र अस्तव्यस्ततामा गुज्रिरहँदा धरान समृद्धि र आधुनिकताको बाटोमा दौडिसकेको थियो । ब्रिटिश गोर्खा भर्ती केन्द्र घोपा क्याम्पको स्थापनापछि पूर्वी पहाडी भेगका युवाहरुको सपनाको शहर बनेको धरान वास्तवमा हरेक शहरभन्दा एक कदम अगाडि थियो र छ । सालघारी फडानी गरेर शहरको सुन्दर रुप लिएको धरान यतिबेला नमूना विकासको गतिमा दौडिरहेको छ । दन्तकाली, बूढासुब्बा, पिण्डेश्वर जस्ता चर्चित धार्मिक पिठका कारण धार्मिक गन्तब्य मात्र होइन शिक्षा, स्वास्थ्य र व्यापारिक केन्द्रका रुपमा उदाएको यो शहर हिजोआज थोरै अशान्त भएको छ । हुनत धरानको राजनीतिक इतिहास पनि विचित्रको छ । केन्द्रीय राजनीतिको रणनीतिलाई माथ खुवाउने धरान वि.स. २०३६ सालको जनमत संग्रहमा निर्दल विजयी भएपनि बहुदलको पक्षमा उभिएको थियो । आज केन्द्रीय राजनीतिले एकातिर हुँदा धरान नगरको नेतृत्वले फरक रुप धारण गरेको छ । दलीय व्यवस्था भएको मुलुक र संसदीय अभ्यासलाई आत्मसाथ गर्ने लोकतान्त्रिक देशमा धरानको नेतृत्व यस पटक भिन्न छ । धरानको समाज राजनीतिक चेतनायुक्त छ । आ–आफ्नै राजनीतिक आस्था र विचारमा हुर्किएको धरानमा राजनीतिक विचारहीनको अवस्थामा नेतृत्व दौडिन हुँदैन । राजनीतिक विचार र सिद्धान्तको रुलिङमा नचल्ने नेतृत्वले समाजलाई सही गति दिन सक्दैन भन्ने विश्वव्यापी मान्यता छ । आज धरानमा जुन अतिवादको आगो सल्किदैछ, त्यसमा स्वतन्त्रताको नाममा स्वच्छन्दता भित्रिएको अनुभुत गराउँछ । सामाजिक संजालको दुरुपयोग र फरक मत राख्ने र आलोचना गर्नेहरु विरुद्ध संगठित हमलाको परिणाम धरानले भोगिरहेको छ । श्रम संस्कृतिको नमुना अभ्यास गरेको धरान नगरको नेतृत्वले अहमता कोशीमा बगाउनुपर्छ । सबैलाई जग जायर छ छुद्र र घृणित अभिव्यक्तिले समाज भड्किन्छ । जनभावनाको अपनमान गर्दा, आस्थामाथि प्रहार गर्दा धरानदेखि परका नागरिकको पनि भावना विथोलिन्छ । मन कुडिन्छ । किनकी धरान धरानबासीको मात्र होइन । धरान सबै धर्मावलम्बीको केन्द्र हो । चर्च र मन्दिरबीचको विवाद साम्य भएपनि त्यसले पारेको दिर्घकालिन प्रभावको अवमूल्यन पक्कै भएको छ । उक्त घटना खिल नमेटिएको घाउ हो । यो अनन्तकालसम्म चहराइरहन्छ । यसको व्यवस्थापन जरुरी छ । धरान आफैं परिवर्तनशील छ । यो नगरले असल अभिभावक खोजेको छ । असल र परिपक्व अभिभावकमार्फत धरानबासी शान्ति खोजीरहेका छन् । किराँत सभ्यताको धरोहर ‘खुवालुङ’माथिको अतिक्रमण र दमनविरुद्ध जसरी धरान जागेको थियो आज अतिवाद विरुद्ध जागेको छ । खुवालुङबाट बगेको पवित्र जल पिन्डेश्वरमा चढाएर होस या, परमेश्वरको प्रेम बचन पढेर होस या,अल्लाहले देखाएको बाटोमा हिडेर होस अर्थात बुद्धको उपदेश बाचन गरेर किन नहोस धरानले शान्ति खोजेको छ । नेपालका हरेक निकायमा बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गर्ने नेतृत्व चाहिन्छ । विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक सदभावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्ने सक्षम नेतृत्व आजको आवश्यक्ता हो । धरानको केही दिन यता देखिएको धार्मिक विचलन सामान्य विषय होइन । यसलाई नजरअन्दाज गर्न मिल्दैन । संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ । कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरेको छ । मन्दिर अगाडि चर्च निर्माणको प्रसंग होस या, गोरु काटेर मासु खाएको प्रसंग होस या त धरान नगरले गरेका गतिविधि नै किन नहोस, सबैको समाधान वार्ता र संवाद नै हो । यसका लागि धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भाव आवश्यक देखिन्छ । हुन त सबै धर्मको ध्येय राष्ट्रको हित, नागरिकको आस्था र विचारको सम्मान एवं समाजको सर्वोपरि हित नै हो । यसबेला धरानले उत्तेजक र आक्रमक नेतृत्व होइन, शान्त र समन्वयकारी नेतृत्व खोजेको छ । साझा निर्णय र सहकार्य अनि कानून र विधिमा चल्ने नेतृत्व चाहेको छ । नीतिगत निर्णयको सट्टा विवेकका भरमा निर्णय गर्ने नेतृत्व समाजका लागि घातक हुनेछन् । हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनुपर्छ भन्ने सन्देश धरानका पछिल्ला परिदृश्यहरुले देखाइरहेको छ । त्यसैले नेपालीको भावना र चाहनाविपरीत धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि राष्ट्रको हितविपरीत हुने भएकाले यसबारेमा धरान नेतृत्वले सोचोस । धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य–अदृश्य शक्तिहरुबाट धरान सजग रहोस । शुभकामना ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार