स्पेनिस क्लबविरुद्ध प्रदेश सांसद दिपक मनांगे पनि खेल्ने

बुधबार, १३ पुस २०७९
गण्डकी प्रदेशको प्रदेश सभा सांसद राजीव गुरुङ उर्फ दीपक मनांगेले स्पेनिस टोली कासेरेनो सिपिविरुद्ध गण्डकी ११ को टोलीबाट खेल्ने भएका छन् । मनांगे हाल गण्डकी प्रदेशको खेलकुद मन्त्री समेत हुन् । पोखरा रंगशालामा बुधबार दिउँसो २ बजे हुने खेलमा गण्डकीले अनिल गुरुङको कप्तानीमा टोली घोषणा गरेको थियो । सुरुवाती टोलीमा मन्त्री मनांगेको नाम नरहेपनि आयोजकले बुधबार विहान उनी पनि टोलीमा रहेको जनाएको छ । गण्डकीको टोलीमा राष्ट्रिय टोलीबाट खेलेका खेलाडी पनि छन् । टोलीका अन्य खेलाडीमा दीप कार्की, राजाबाबु मगर, रोशन राना मगर, मानबहादुर तामाङ, आशिष गुरुङ, रन्दीप पौडेल, जीवन गुरुङ, सुमित श्रेष्ठ, सरोज योञ्जन, विसोन गुरुङ, जय गुरुङ, कमल थापा मगर, विजय श्रेष्ठ, दीपेश आले मगर, सान्ताबहादुर गुरुङ, लक्ष्मण रुचाल, सुवाष गुरुङ, सुरज गुरुङ र प्रकाश पुन छन् । पोखरा र काठमाडौंमा स्थानीय टिमसँग मैत्रीपूर्ण खेल खेल्न टोली मंगलबार नेपाल आइपुगेको हो । स्पेनको चौथो श्रेणीमा रहेको क्लबले नेपाल भ्रमणलगत्तै रियल म्याड्रिडसँग खेल्नेछ । यही पुस २० गते (जनवरी ४) मा हुने स्पेनिस किंग्स कपको अन्तिम ३२ का लागि शुक्रबार स्पेनिस फुटबल संघ (एसएफएफ)को मुख्यालयमा गरिएको ‘ड्र’बाट कासेरानोले रियलसँग खेल्ने ऐतिहासिक अवसर प्राप्त गरेको थियो । शान्तिका लागि फुटबल’को नाराका शाथ नेपालबाट सम्पूर्ण विश्वलाई शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यमा खेल हुन लागेको हो । यसैगरी काठमाडौं ११ को टिम राष्ट्रिय टोलीका अर्का पूर्व कप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ । काठमाडौं टोलीको प्रशिक्षक मेघराज केसी हुनेछन् भने टिममा काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीहरु समावेश छन् । कासेरेन्योले बुधबार पोखरा रंगशालामा गण्डकी ११ तथा बिहीबार दशरथ रंगशालामा काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । क्रिस्मस मनाएर काठमाडौं आउने टोली दुई खेललगत्तै नयाँ वर्ष मनाउन स्पेन फर्किने आयोजक लुम्बिनी गार्डेन फाउन्डेसन नेपालका अध्यक्ष तथा लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका महासचिव एकराज गिरीले जानकारी गराएका छन् । नोभेम्बर १३ मा भएको पहिलो चरणमा कोर्डोबालाई ३–० को नतिजामा पराजित गरेको कासेरानोले डिसेम्बर २२ मा सम्पन्न दोस्रो चरणमा जिरोनामाथि २-१ को जित हासिल गर्दै स्पेनिस किंग्स कपको अन्तिम ३२ मा स्थान सुरक्षित गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार