छायांकनमा कति छ चाप ?

विहीबार, १८ असोज २०८०
झापा । साउनपछिको महिना फिल्म छायांकनका लागि राम्रो मानिन्छ । वर्षाको सम्भावना न्यून रहने र विस्तारै गर्मी कम हुँदै जाने भएकाले प्रायः निर्माता÷निर्देशकले छायांकनका लागि भदौदेखिको महिना रोज्ने गरेका हुन्छन् । यसपटक पनि भदौदेखि छायांकनमा निस्कने फिल्मको चाप बढेको छ । यतिबेला आधा दर्जनभन्दा बढी फिल्म छायांकनमा छन् । दशैं–तिहारपछि थप वृद्धि हुनसक्ने देखिन्छ । भदौ अन्तिमबाट पोखरामा घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को छायांकन भैरहेको छ । यो फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सन्तोष अधिकारी लगायतको अभिनय छ । त्यस्तै, पोखरामै निर्देशक दीवाकर भट्टराईले पल शाह, दीपिका प्रसाईं, शुशिल सिटौला, समीम खानलाई मुख्य भूमिकामा लिएर फिल्म ‘मायावी’को छायांकन गरिरहेका छन् । छायांकनरत फिल्मको सूचीमा ‘कबयी’ निर्देशन रामबाबु गुरुङको ‘डिग्री माइला’ पनि छ । करिब दुई हप्तादेखि ओखलढुङ्गास्थित रुम्जाटारमा फिल्मको छायांकन भैरहेको छ । पहिलो चरणको छायांकन पूरा गरेर फिल्मको टिम केही दिनमै काठमाडौं फर्किने तयारीमा छ । आगामी मंसिरमा दोस्रो चरणको छायांकन शुरु गरिने फिल्ममा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा छन् । त्यस्तै, पूर्वको विभिन्न ठाउँमा तीन हप्तादेखि फिल्म ‘रङ्गेली’को छायांकन भैरहेको छ । अर्जुन सुवेदीले निर्देशन गरिरहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा आदिको अभिनय छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’को पनि अहिले काठमाडौंमा छायांकन भइरहेको छ । रेखा थापा, बेनिशा हमाल र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्मको छायांकन अन्तिम चरणमा छ । राजविराज क्षेत्रमा फिल्म ‘अगस्त्य’को पनि छायांकन भैरहेको छ । फिल्मको छायांकन शुरु भएको ६० दिनभन्दा बढी भइसकेको छ । फिल्म ‘लार्ज स्केल’ मा बनिरहेका कारण छायांकन लम्बिएको निर्देशक सौरभ चौधरीले बताएका छन् । उनी स्वयंको लेखन रहेको फिल्ममा सौगात मल्ल, मलिका महत, नाजिर हुसेनको अभिनय छ । यो फिल्मलाई दुई श्रृंखलामा निर्माण गर्ने सौरभको योजना छ । अब छायांकनको तयारीमा सुयोग गुरुङको ‘फर्की फर्की, प्रदीप भट्टाईको ‘महाजात्रा’, यम शेर्पाको ‘कार्साङ’, दीपकराज गिरी समुहको ‘वडा नम्बर ६’को सिक्वेल, सन्तोष सेनको ‘बलिदान, बसन्त निरौलाको ‘ज्वाईं साब’, दीपेन्द्र लामाको अनटाइटल प्रोजेक्ट, मुस्कान ढकालको ‘पञ्चामृत’, विमलेश अधिकारीको ‘ह्याप्पी डिभोर्स’, जनकदीप पराजुलीको ‘पापी मान्छे ३’ लगायतका फिल्म रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार