‘दर्शकको रुचिलाई हामी फिल्मकर्मीले बुझ्न सकेका छैनौं’

विहीबार, १८ असोज २०८०
इटहरी । अभिनेत्री वर्षा सिवाकोटी जति सुन्दर छिन्, अभिनय कौशलमा पनि उत्तिकै प्रतिभाशाली छिन् । करिब एक दशकअघि ‘नाइँ नभन्नु ल २’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी उनी त्यसको एक वर्षपछि रिलिज भएको ‘पशुपतिप्रसाद’ बाट सबैको नजरमा परिन् । अर्थात् उनी यो फिल्मबाट नेपाली फिल्म क्षेत्रमा स्थापित भइन् । उनको अभिनय यात्रा त्यसपछि निरन्तर अघि बढिरहेको छ । हालसम्म एक दर्जनजति फिल्ममा अभिनय गरिसकिन् भने थुप्रै म्युजिक भिडियोमा समेत उनी देखिइन् । तर उनकै भनाइअनुसार वर्षा आफ्नो फिल्मी यात्रामा खास सन्तुष्ट हुने अवस्थामा भने पुगिसकेकी छैनन् । यो साता अनलाइनखबरको गफ स्टेसनमा अन्तर्वार्ताका लागि आइपुगेकी वर्षाले आफ्नो फिल्मी करिअर, सपना, अपेक्षादेखि सम्बन्धसम्मका कुरा गरिन् । ‘हुन त आफ्नो कामबाट कोही पनि पूर्ण सन्तुष्ट हुन सक्दैन, हुनु पनि हुँदैन,’ वर्षा भन्छिन्, ‘सोचेजस्तो सबै फिल्म सफल पनि हुँदैनन् र हरेक ब्यानरमा सबै जना अटिंदैन पनि । पशुपतिप्रसादबाटै मलाई अहिले पनि धेरैले चिन्नुहुन्छ । यो एक हिसाबले खुसीको कुरा पनि हो । तर यसको ह्याङलाई मेट्नुपर्ने समय चाहिं आयो भन्ने लाग्छ ।’ वर्षाको पनि मुख्य भूमिका रहेको फिल्म ‘परदेशी २’ रिलिजको संघारमा छ । यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा प्रकाश सपुत र केकी अधिकारी शीर्ष भूमिकामा छन् । नारायण रायमाझी निर्देशित फिल्मको यतिबेला काठमाडौं उपत्यकाबाहिरका सहरहरुमा प्रचार अभियान चलिरहेको छ । प्रचारप्रसारको यो अभियानमा फिल्मको सिंगो टिम हिंडिरहेको बेला वर्षा भने छुटेकी छन् । उनी प्रचारमा त छिन्, तर उपत्यकामा ‘एक्लै’ । यसमा के भएको हो ? गफ स्टेसनमा वर्षालाई सोधियो । ‘मेरो सामेल हुने बेला भर्खर आउँदैछ । यसमा यस्तै प्लानिङ थियो पूर्व र पश्चिम गरेर दुई चरणमा पब्लिसिटी गर्ने । पहिलो चरणमा सर्टेन कलाकार जाने र अर्को चरणमा बाँकी कलाकारहरु जाने । त्यही भएर म त्यहाँ नदेखिएको हो । सेकेण्ड फेजमा म जाने हो,’ वर्षाले प्रष्ट्याउने कोसिस गरिन् । यद्यपि बागलुङमा केही दिनअघि फिल्मको ग्रान्ड प्रिमियर नै गरियो । सबै कलाकार त्यहाँ पुग्दा फिल्मी शीर्षमध्येकी एक कलाकार वर्षालाई आमन्त्रण नै गरिएन । ‘बागलुङमा गरिएको प्रिमियरमा मलाई नबोलाउनुको खास कारण चाहिं रुथाहा भएन । छोटो समयमा यो सबै भएकाले नभ्याएर त्यसो गरिएको पनि हुन सक्छ । लास्ट आवरमा प्लानिङ भएको भएर नभ्याइएको होला,’ उनी भन्छिन्, ‘यसबारे टिमसँग भेटघाट गरेपछि थाहा होला ।’ ‘परदेशी २’ मा परदेशमा भेटिने एक पात्रको भूमिका छ रे वर्षाको । ‘पशुपतिप्रसाद’पछि उनको करिअरमा एक किसिमको ‘ग्याप’ नै छ । फिल्म लगातारजसो आइरहे पनि हिट फिल्म हातमा छैनन् । त्यसैले ‘परदेशी २’ बाट वर्षा निकै आशावादी छिन् । यो फिल्म सफल भएको खण्डमा आफ्नो करिअरमा पनि एउटा अर्को इँटा थपिने उनको बुझाइ छ । ‘पशुपतिप्रसाद आजको दिनसम्म पनि ताजा पात्र हो । दर्शकहरुको मनमनमा बसेको फिल्म भएकाले त्यो फिल्मलाई सम्झिनुहुन्छ सबैले । अब परदेशी २ ले मेरो करिअरमा अर्को इँटा थप्ला भन्ने लाग्छ,’ आशावादी हुँदै वर्षा भन्छिन्, ‘परदेशी २ ले जुन हाइप बनाइरहेको छ । प्रकाश सपुत र नारायण रायमाझीको सांगीतिक क्षेत्रको फ्यान फलोइङले पनि व्यावसायिक सफलता पाउनेमा म विश्वस्त छु ।’ गफ स्टेसनको बसाइमा वर्षाले नेपाली फिल्मका विभिन्न पाटाको पनि कुरा गरिन् । नेपाली फिल्मले सोचेजस्तो सफलता नपाउनुमा ‘फिल्म मेकर्स’ नै दुविधामा रहनु एउटा कारण रहेको उनलाई लाग्छ । ‘दर्शकलाई खास के मन पर्छ भन्नेमा हामी मेकर्स नै कन्फ्युज छौं जस्तो लाग्छ । विश्वभरका फिल्महरु दर्शकले हेर्नहुन्छ र सोहीअनुसार अपेक्षा पनि राख्नुहुन्छ,’ उनी भन्छिन्, ‘प्राविधिक रुपमा हामी अलि पछि नै छौं । किनकि हाम्रो बजेटले नै धेरै कुरा भ्याउँदैन । बाहिरको जस्तो एक्सपेरिमेन्टल फिल्म बनाउँदा हामी चुक्छौं । स्थानीय कथावस्तुको अर्गानिक फिल्म नै तुलनात्मक रुपमा चलिहरेका छन् । हामी त्यसमा नै फोकस्ड हुनुपर्छ जस्तो लाग्छ । हाम्रो आफ्नै शैली बनाउनुपर्छ ।’ फिल्म क्षेत्र सरकारको प्राथमिकतामा नपरेको पनि उनलाई लाग्छ । सरकारले फिल्म क्षेत्रलाई प्राथमिकतामा नराख्दा सोचेजस्तो प्रगति हुन नसकेको उनको बुझाइ छ । कलाकारलाई विभिन्न खालको भूमिकामा आफूलाई अब्बल साबित गर्न मन लाग्छ । वर्षाले पनि धेरै खालका भूमिकामा आफूलाई प्रस्तुत गरिन् । अब उनलाई केमा रुचि छ त ? ‘बायोपिक फिल्ममा काम गर्न मन छ अब । समाजलाई योगदान दिएका कोही व्यक्तिको जीवनी निर्वाह गर्न मन छ,’ वर्षाको जवाफ छ । आफ्नो कामबाहेक मानिसलाई अन्य विभिन्न कुरामा रुचि हुन्छ । मान्छेका धेरैवटा सौख हुन्छन् । वर्षालाई क्रिकेट हेर्न निकै मन पर्छ । त्यसैले उनी केही समयअघि सम्पन्न एसीसी क्रिकेट हेर्न श्रीलंका पुगिन्, जहाँ नेपाल र भारत भिड्दैथिए । आफ्नो देश नेपालको टिमलाई हौसला बढाउन उनी श्रीलंका पुगिन् । ‘नेपाल र इण्डियाको गेम हुँदैछ, धेरै नेपाली श्रीलंका जाँदै हुनुहुन्छ भन्ने भएपछि त्यही पुगेर हेरौं न भन्ने भयो र म पनि गएँ । त्यहाँ पुगेर हेर्दा देशप्रेम अझ उजागर हुने रहेछ र गर्वको अनुभूति हुने रहेछ । सोसल मिडियामा रेस्पोन्स आउँदा धेरै रमाइलो पनि लाग्यो । इण्डियन युट्युबरले केही प्रश्न गर्नुभएको थियो । त्यो भाइरल पनि भएछ,’ श्रीलंकामा गएर क्रिकेट हेर्दाको अनुभव वर्षा सुनाउँछिन् । वर्षा यदाकदा आफ्नो व्यावसायिकभन्दा बढी निजी जीवनका कारण पनि चर्चा आइरहेकी हुन्छिन् । यस्तोमा उनको विवाह र सम्बन्धविच्छेद दुवै घटनाक्रम पनि कला–मनोरञ्जन मिडियाका हेडलाइन बने । गत वर्ष विवाह बन्धनमा बाँधिएकी वर्षा त्यसको नौ महिना नपुग्दै मुक्त भइन् । यसबारे पनि गफ स्टेसनमा केही कुरा सुनाइन् । ‘सम्बन्ध टुट्नुमा सायद खराब समय कारण थियो होला । समय खराब चलिरहेको बेला मान्छे चिन्न पनि सकिनँ होला,’ उनी भन्छिन्, ‘सायद यो घटना जीवनलाई केही पाठ पढाउन आएको रहेछ भनेर बुझेको छु ।’ वर्षाले आफ्नो वैवाहिक जीवन छोटो समयमै टुटेपछि महसुस गरेको कुरा हो सम्बन्धलाई व्यक्तिगत र सामाजिक दुई किसिमले अगाडि बढाउनुपर्ने रहेछ । ‘कसैसँगको प्रेम सम्बन्ध व्यक्तिगत हुन्छ भने विवाहमा पुगेपछि त्यो सामाजिक पनि हुन पुग्छ । सामाजिक सम्बन्धमा चाहिं एउटा मात्रै कुराले प्रभाव पार्दैन । यसमा धेरै कुरा हुन्छ । हेर्दाखेरि एउटा मात्रै पाटो हेर्नुभएन धेरै कुरा हेर्नुपर्छ,’ वर्षाको बुझाइ छ, ‘कसैसँग रिलेसन गाँस्दा आफ्नो करिअर, सोच र विचारमा के फरक पार्छ भन्ने कुरालाई मूल्यांकन गरेर मात्रै अघि बढ्नुपर्ने रहेछ भन्ने कुरा सिकें ।’ गफ स्टेसनको बिट मार्नेबेला वर्षाले समाज र राज्यका पनि केही कुरा गरिन् । बढ्दो महंगी र आर्थिक मन्दी आम नागरिकलाई मर्का परिरहेकोमा उनी चिन्तित बनिन् । ‘चाडबाड आउन लागेको छ । सबैमा खुसीको माहोल छ,’ वर्षा भन्छिन्, ‘अहिले महंगी र आर्थिक संकटको कुरा आइरहेको छ । यसमा आम जनतामा धेरै मर्का नपारीकन व्यवस्थित रुपमा समाधान गर्दै अघि बढे चाडबाडको समय सबैलाई राम्रो हुनेथियो । सबैको दशैं–तिहार सुखमय हुन सक्छ ।’ अनलाइन खवरबाट ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार