संशोधित नागरिकता ऐन र नियमावलीमा समेट्न बाँकी रहेका विषयहरुः नेपाल नागरिकता ऐन २०६३, नियमावलीको र पछिल्लो संशोधनले पनि अझै धेरै विषयहरू समेट्न बाँकी रहेको देखिन्छ । जस कारण अझै धेरै नागरिकहरू गैर नागरिक भएर रहनु पर्ने अवस्था विद्यमान छ । जुन हालै संशोधित नागरिकता नियमावलीले समेत सम्बोधन गरेको छैन । सम्बोधन गर्नुपर्ने विषयहरू यस प्रकार रहेका छन् । १.संवत् २०७२ असोज ३ गते भन्दा अगाडि वा जन्मको आधारको नागरिकता वितरण गर्नु भन्दा पहिला निवेदकको बुबा र आमा दुवैको मृत्यु भएको अवस्थामा निवेदकको सहोदर काका, ठुलो बुबा र बाजे मध्ये कसैको नागरिकता जन्मको आधारको भए पनि मृतकको सन्तानलाई वंशजको नागरिकता प्रमाणपत्र दिने । २.संवत् २०७२ असोज ३ गते भन्दा अगाडि वा जन्मको आधारको नागरिकता वितरण गर्नु भन्दा पहिला निवेदकको बुबा र आमा मध्ये कुनै एकको मृत्यु भएको वा बेपता भएको र एकको जन्मको आधारको नागरिकता भए निजको सन्तानलाई वंशजको नागरिकता प्रमाणपत्र दिने । ३.संवत् २०७२ असोज ३ गते भन्दा अगाडि वा जन्मको आधारको नागरिकता वितरण गर्नु भन्दा पहिला निवेदकको बुबा र आमा दुवैको मृत्यु भएको र निजको कुनै सन्तानले जन्मको आधारको नागरिकता प्राप्त गरेको तर निजका भाइ बहिनी उक्त मितिमा १६ वर्ष उमेर नपुगेको कारणले नागरिकता प्राप्त नगरेको भए निजका त्यस्ता भाइ बहिनीलाई वंशजको नागरिकता प्रमाणपत्र दिने । ४.विवाहित महिलाको पतिको नागरिकता र माइती पट्टिको बुबा आमा, दाजु भाइ, दिदी बहिनी मध्ये कसैको नागरिकता जुनसुकै किसिमको भएता पनि निजलाई वंशजको नागरिकता प्रमाणपत्र दिने । (अन्यथा विदेशी मुलको विवाहित महिलाले नागरिकता प्राप्त गर्ने नेपाली मुलको विवाहित महिला नागरिकताबाट वञ्चित रहनुपर्ने अवस्था रहन्छ ।) ५.विवाहित महिलाले पतिको विवरण यकिन गर्न नसकेको खण्डमा अविवाहित छोरी सरह माइती पट्टिबाट वंशजको नागरिकता प्राप्त गर्न सक्ने । ६.नेपाली नागरिकको छोरीले विदेशी नागरिकसँग विवाह गरेको र निजले पतिको मुलुकबाट नागरिकता प्राप्त गरेको छैन भनी स्वः घोषणा गरेमा निजले वंशजको नागरिकता प्रमाणपत्र लिन सक्ने । त्यस कारण उल्लेखित विषयहरू सम्बोधन नभएसम्म उक्त बमोजिमका समस्या फेरि पनि यथावत् रहेको हुँदा सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । अस्तु ।त्यस कारण उल्लेखित विषयहरू सम्बोधन नभएसम्म उक्त बमोजिमका समस्या फेरि पनि यथावत् रहेको हुँदा सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।
प्रतिक्रिया