कोशी प्रदेश : कांग्रेस संसदीय दलका नेता थापाको राजीनामा अस्वीकृत

सोमबार, २० कार्तिक २०८०
विराटनगर ।  नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ । राजीनामा अस्वीकृत भएसँगै उनी पुरानै जिम्मेवारीमा फर्किएका हुन् । भद्र र सालिन छविका नेता थापाले गत असोज २८ गते संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । सोमबार बसेको दलको बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको हो । दलको निर्णयपछि थापा जिम्मेवारीमा फर्किएका हुन् । अब पार्टी प्रदेश संसदीय दलको नेताको जिम्मेवारी उनैले सम्हाल्ने छन् । मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्किन आग्रह गरेका थिए । यसअघि कार्कीलगायत पार्टीको संस्थापनइतर अर्थात डा. शेखर कोइराला पक्षधरले थापालाई राजीनामा गराउन ठूलो कसरत गरेका थिए । यसअघि दुईपटक प्रदेशको मुख्यमन्त्री बनेका थापाको सत्ता यात्रामा सर्वोच्च अदालतले ‘ब्रेक’ लगाइदिएको थियो । त्यसपछि गठबन्धनले नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय ग¥यो । उक्त निर्णयविरुद्ध पार्टीका ८ जना प्रदेशसभा सदस्यसहित विद्रोह गरेका कांग्रेसको इतर पक्षका कार्की नेकपा (एमाले)समेतको समर्थनमा गत असोज २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । पार्टी र गठबन्धनको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै नैतिकताका आधारमा थापाले पदबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामालाई दलको बैठकले स्वीकार गरेन । थापा नेता कृष्णप्रसाद सिटौला पक्षधर हुन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाको पनि साथ थियो । थापाले पार्टीको केन्द्रीय नेतृत्वको आग्रह र दलको बैठकको निर्णयपछि आफू जिम्मेवारीमा फर्किएको जानकारी दिए । प्रदेशको राजनीति ट्रयाकमा आइसकेको र दलको बैठकले पनि राजीनामा अस्वीकार गरेको अवस्थामा पुरानै जिम्मेवारीमा फर्किएको उनको भनाइ छ । कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईले पनि राजीनामा दिएका थिए । दलको बैठकले राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्किन दुवै जनालाई आग्रह गरेको छ । थापाका अनुसार कार्की र राई पनि जिम्मेवारीमा फर्किएका छन् ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार